२२ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो ।
उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।
पूर्वखोला -२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्याइएको थियो ।
मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले भने, ‘रिपोर्ट पोजेटिभ आएपछि भर्खरै हामीले मन्त्रालयमा खबर गरेका छौं ।’
पछिल्लो अध्यावधिक तथ्यांकअनुसार नेपालमा संक्रमितको संख्या २ हजार ६ सय ३४ पुग्दा २ हजार ४ सय ५० जना पुरुषहरु रहेका छन् भने १ सय ८४ जना महिला रहेका छन् ।
प्रदेशगत हेर्दा प्रदेश १ का १२ जिल्लामा १ सय ९७ जना, प्रदेश २ का ९ सय ६३ जना, बाग्मति प्रदेशको १२ जिल्लामा ५९ जना, गण्डकी प्रदेशको ७ जिल्लामा ५३ जना, प्रदेश ५ को ११ जिल्लामा ८ सय ९८ जना, कर्णाली प्रदेशका मुगु सहित ६ जिल्लामा ३ सय ८३ जना र सुदुरपश्चिमको ९ जिल्लामा ८१ जना संक्रमित फेला परेका छन् ।
योसँगै देशका ७७ जिल्लामध्ये ६५ जिल्लामा संक्रमित फैलिसकेका छन् ।