
काठमान्डौं उपत्यकाका व्यवसायीहरुले बिहीबारदेखि बिहान ११ बजेसम्म पसल खुला राख्ने निर्णय गरेका छन् ।
सरकारले घोषणा गरेको लकडाउनलाई चुनौती दिँदै नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधारको बैठकले पसल–व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको हो ।
अनिश्चितकालीन लकडाउनका कारण बैंकको व्याज तथा घरभाडा, राजश्व तिर्न र कर्मचारीलाई तलब खुवाउन नसकेका कारण मारमा परेकाले पसल–व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको महासंघका महासचिव् अञ्जन शाक्यले जानकारी दिए ।
उनले विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेर पसल खोलिने स्पष्ट गरे ।
उनले सरकारले बल प्रयोग गरेर पसल बन्द गर्न दबाब दिए प्रतिवाद गरिने उल्लेख गरे । अन्यथा बैंकको ब्याज, घरभाडा र राजश्व सरकारले नै तिरिदिनुपर्ने उनको भनाइ थियो ।
इटहरीका बजार बिहीबारदेखि खुल्ने
इटहरी — सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रका बजार बिहीबारदेखि खुल्ने भएका छन् । स्वास्थ्य सुरक्षाका सावधानी अपनाएर बजार खोलिने भएको हो ।
बुधबार बसेको इटहरी उपमहानगरपालिका, उद्योग वाणिज्य संघ इटहरी साथै स्थानीय प्रशासनबीचको बैठकले बजार खोल्ने निर्णय गरेको हो ।
सामाजिक दूरी कायम गर्ने गरी बिहान ७ बजेदेखि १० बजेसम्म बजार खोल्न पाइने उपमहानगरले जनाएको छ । इटहरीमा निजी सवारीसाधनसमेत चलाउन पाइने भएको छ ।
सरकारले कोरोना संक्रमण फैलन नदिन लागू गरेको लकडाउनका कारण नगरमा अत्यावश्यक पसल र औषधि पसलहरु मात्र खुल्दै आएका छन् ।
शैक्षिक संस्था, होटल, मन्दिर, शैलुन, ब्युटीपार्लर, फिटनेस क्लब, सिनेमा हल लगायत बाक्लो जमघट हुने स्थानहरु भने खुल्ने छैनन् ।