आरडीटीबाट कोरोना (कोभिड–१९) परीक्षण गर्दा ललितपुर महानगरपालिका, महांकाल गाउँपालिका र कोन्ज्योसोम गाउँपाकिलाका ६ जनामा पोजेटिभ रिपोर्ट आएको छ ।
शुक्रबार कोन्ज्योसोम गाउँपालिकाले आरडिटीबाट १३६ र पिसिआरबाट ६० जनाको कोरोना भाइरस गरेको थियो । आरडिटीबाट परीक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको छ । जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार कोन्ज्योसोम गाउँपालिकाका ३० र ३२ वर्षिय महिलामा पोजेटिभ देखिएको हो । उनीहरुलाई छुट्टै क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।
शनिबार महांकाल गाउँपालिकाले १ सय ३८ जनामा आरडिटी र ६१ जनामा पिसिआरबाट कोरोना परीक्षण गरिएको महांकाल गाउँपालिका, स्वास्थ्य शाखाका संयोजक ज्ञानेन्द्र चन्दले जानकारी दिए । पिसिआरबाट परीक्षण गरिएका मध्ये २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु २८, ३२ वर्षका तरकारी व्यवसायी हुन् । आज गाउँपालिकामा जनप्रतिनिधि, कर्मचारी, स्वयंसेविका, सुरक्षाकर्मी, ड्राइभर र तरकारी व्यवसायीको परीक्षण गरिएको हो ।
ललितपुर महानगरपालिकमा आज आरडिटीबाट ११९ र पिसिआरबाट २११ को परीक्षण गरिएको स्वास्थ्य संयोजक देवी गुरुङले जानकारी दिए । उनका अनुसार आरडिटीबाट परीक्षण गर्दा सरसफाइमा काम गर्ने ४८ र ५० वर्षिय महिलामा पोजेटिभ देखिएको छ । उनीहरुलाई पाटन हस्पिटल पठाइएको छ । महानगरले आज स्वास्थ्य र सरसफाईका कर्मचारीको परीक्षण गरेको थियो । भोली जनप्रतिनिधिको परीक्षण गर्ने कार्यक्रम रहेको छ ।
ललितपुरमा शुक्रबारबाट समुदाय स्तरको संक्रमण अवस्था पत्ता लगाउन जनसम्पर्क बढी हुने व्यक्तिहरु, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम रहेको उनले बताए ।
शनिवार ललितपुर महानगरपालिका र महाँकाल गाउँपालिकामा कोरोना परिक्षण कार्यक्रम राखिएको छ ।