
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ की २९ वर्षीया एक सुत्केरीको मृत्यु भएपछि उनको परिवारको स्वाब निकालेर परीक्षण सुरु गरिएको छ।
उनको बिहीबार राति करिब १० बजे मृत्यु भएको हो।
शनिबार दिउँसो मृतकको श्रीमान, सासु र नन्दको स्वाब संकलन गरिएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दियो ।
वैशाख २३ गते टिचिङ अस्पतालमा भर्ना भएर २४ गते सुत्केरी भएपछि उनी २५ गते डिस्चार्ज भएर घर गएकी थिइन्। घरमा पुगेपछि ज्वरो, स्वासप्रश्वासलगायत शारीरिक समस्या आएपछि धुलिखेल अस्पतालमा ल्याइएको थियो। आरडीटी परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनको पीसीआर परीक्षण गरिएको थियो।
पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको धुलिखेल अस्पताल स्रोतले जानकारी दियो। तर स्वास्थ्य मन्त्रालयले महिलाको कोरोनाका कारण मृत्यु भए/नभएको विषयमा थप अनुसन्धान सुरु गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
कारण निश्चित भएपछि मन्त्रालयले आधिकारीक रुपमा सूचना सार्वजनिक गर्ने देवकोटाको भनाइ छ । ‘यस सम्बन्धमा हामीले थप विस्तृत विवरण लिइराखेका छौँ। कोभिड-१९ सँग सम्बन्धित थप विवरण लिइराखेका छौँ’, प्रवक्ता देवकोटाले भने, ‘यो परीक्षणको सम्पूर्ण विवरण प्राप्त भएपछि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारीक रुपमा कोभिड-१९ सँग सम्बन्धित मृत्यु हो वा होइन भन्ने कुरा निक्यौल गरेर प्रशारण गर्ने सबैलाई जानकारी गराउँछु।’
अस्पतालमा उपचार गर्न ल्याउने क्रममा बाटोमा निधन भएको भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले बताएतापिन धुलिखेल अस्पताल स्रोतले भने उनको उपचारको क्रममा निधन भएको र आरडीटी र पीसीआर दुवै परीक्षणमा नतिजा पोजेटिभ देखिएको बताएको छ ।
अस्पताल स्रोत भन्छ “भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा ती महिलाको शुक्रबार राति मृत्यु भएको हो” ।
यसमा प्रयोग गरिएको तस्विर : अछामको मंगलसेनस्थित क्वारेन्टाइनमा स्वाब संकलनमा क्रममा स्वास्थ्यकर्मीको हो ।