प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सर्वदलीय बैठक डाकेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा साढे ४ बजे हुने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल, पूर्वप्रधानमन्त्री, सीमाविदलाई डाकिएको छ।
नेपालको भूमि मिचेर लिपुलेकमा भारतले सडक बनाएको, बढ्दो कोरोना माहामारीलगायतका विषयमा छलफल गर्न सर्वदलिय बैठक डाकिएको बताइएको छ।
पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि नेकपाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।
बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित भएकाे थियाे ।
भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको र सांसदबाहेक अरु नेताको परीक्षण नगरिएको कारण देखाउँदै बैठक स्थगनको सूचना आएको एक नेताले जानकारी दिए ।
मंगलबार साँझ भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी हुन् ।
२७ वर्षीय प्रहरी जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर दुवाकोटामा अस्थायीरुपमा बस्दै आएको भन्ने खुलेको छ । ती जवान सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत रहेको र उनको टेकु अस्पतालमा अहिले उपचार भइरहेको छ । काठमाडौ आउनासाथ शसस्त्र प्रहरीले उनको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो।
नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ ।
नेकपाको अर्को बैठकको मिति निश्चित छैन ।