
काठमाडौं । सरकारले २६ वैशाखदेखि ४४ प्रकारका उद्योग प्रतिष्ठान, विक्री वितरण र सेवा संचालन गर्न दिन नीतिगत निर्णय गर्यो । बिहिबार नेपालमा कोरोना संक्रमितकमो संख्यामा एक्कासी वृद्धि भएपछि सरकारले दिएको सबै पास रद्ध गरेको छ ।
सरकारले खाेल्न दिने भनेका बस्तु तथा सेवा उत्पादन र विक्री वितरण गर्ने निकायका कामदार तथा कर्मचारीलाई आवतजावतको लागि दिएको पास रद्ध भएपछि अन्योलको अवस्था सिर्जना भएको छ ।
गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेले पहिलेको मन्त्रिपरिषद्को निर्णय अनुसार नै उद्योगहरु सञ्चालन हुने बताए । पासका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले व्यवस्था गर्नेछ । सरकारले कोरोना भाइरस भाइरस संक्रमण फैलनबाट रोक्न ११ चैतदेखि देशव्यापी लकडाउन गरेपछि विभिन्न बस्तु तथा सेवा उत्पादन र विक्री वितरण गर्ने निकायका कामदार तथा कर्मचारीलाई आवतजावतमा समस्या उत्पन्न भएको थियो ।
‘उद्योग प्रतिष्ठान र निर्माणजन्य व्यवसायमा कामदार तथा कर्मचारीलाई कार्यस्थलमै राखेर काममा लगाउनु पर्नेछ, कार्यस्थलमै राखेर काम गराउन नसक्ने बस्तु तथा सेवा उत्पादक र विक्री वितरण गर्नेहरुका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले समन्वय गरेर पासको व्यवस्था गर्नु पर्ने व्यवस्था छ, पास आवश्यम परेमा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्नुपर्छ,’ न्यौपानेले भने ।
पास दिन विषयमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले आफै विभिन्न विकल्प अपनाउन सक्ने पनि न्यौपानेले जानकारी दिए ।
सेवा उत्पादन र विक्री वितरण गर्ने उत्पादक वा सेवा प्रदायकले कामदार तथा कर्मचारी कहाँबाट कहाँसम्म लानु ल्याउनु पर्ने हो भनेर पास माग गर्नु पर्नेछ । त्यस्ता उत्पादक वा विक्री वितरकको नियामक निकाय को हो, यस्ता विषयको विश्लेषण गरेर परिचयपत्रकै आधार कामदार आउन जान दिइनेछ ।
सम्बन्धित नियामक निकायसँग समन्वय गरेर त्यस्ता नियामकबाट नै पास उपलब्ध गराउने व्यवस्था गर्ने कि वा आफैले पास दिने भन्ने विषयमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरु आफैले व्यवस्था मिलाउने छन् । उद्योग सञ्चालनको लागि केही समस्या आयो भने गृहमन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने मन्त्रालयकाे भनाइ छ ।
उपत्यकामा कसरी पाइन्छ पास ?
काठमाडौं जिल्लाको हकमा भने सम्बन्धित नियामक निकायले र जिल्ला प्रशासन कार्यालयको सहमतिमा व्यवस्थापकले नै पास दिनसक्ने छ ।
अत्यावश्यक वस्तु तथा सेवा उत्पादन र विक्री वितरण गर्ने उत्पादक र विक्री वितरकलाई परिचयपत्रकै आधारमा नै समान ओसार पसार गर्न दिने व्यवस्था यसअघिदेखि नै गरिएको थियो । पछिल्लो समय खुलाइएको उद्योग प्रतिष्ठान तथा सेवा व्यवसायका कामदार तथा कर्मचारीहरुको लागि पासको व्यवस्था सम्बन्धित नियामक निकायले गर्न सक्ने छन् ।
बैंक तथा वित्तीय संस्थाका कर्मचारीको पास नेपाल राष्ट्र बैंकबाट लिन सक्ने छन् । बीमा कम्पनीको कर्मचारीको पास बीमा समितिबाट, धितोपत्र बजारसँग सम्बन्धित कर्मचारीको लागि धितोपत्र बोर्डबाट तथा अन्य उद्योग प्रतिष्ठानहरुको पास उद्योग विभागबाट लिन सक्ने छन ।
यी हुन सञ्चालन हुन ४४ प्रकारका उद्योग प्रतिषठन
१) खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु
२) दुध तथा दुग्धप दार्थ उत्पादन उद्योग
३) औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु
४) खाने पानी उत्पादन गर्ने उद्योगहरु
५) इँटा उद्योग
६) पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग
७) खाने तेल तथा घ्यू उद्योग
८) चिनी उद्योग
९) चिया प्रशोधन उद्योग
१०) एलपीजी ग्याँस उद्योग
११) प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग
१२) कफि उद्योग
१३) पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग
१४) नूडल्स तथा तयारी चाउचाउ उद्योग
१५) मसला उद्योग
१६) अलैंची र अदुवा प्रशोधन उद्योग
१७) कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग
१८) धान चामल र चिउरा उद्योग
१९) दाल उद्योग
२०) पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग
२१) खानी तथा खनिजजन्य उद्योग
२२) बालुवा प्रशोधन तथा क्रसर उद्योग
२३) सिमेण्ट उद्योग
२४) आइरन तथा स्टिलउद्योग
२५) पेन्टिङ्गस (रंगरोगन) उद्योग
२६) जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग
२७) बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग
२८) जुुस तथा हल्का पेयपदार्थ उद्योग
२९) प्लाइउड र भेनिर उद्योग
३०) विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु
३१) जस्ता पाता उद्योग
३२) हेभी मेशीनरी औजार मर्मत संभार
३३) खनिजजन्य उद्योग र खानीहरु (लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत)
३४) समिल र काष्ठ उद्योग
३५) आल्मुनियम उद्योग
३६) ग्रील उद्योग
३७) फोहोर मैला संकलन तथा प्रशोधन उद्योग
३८) ढुवानी तथा कार्गो सेवा उद्योग
३९) मेसिन पार्टपूर्जा वर्कसप उद्योग
४०) मोटर ग्यारेज वर्कसप उद्योग
४१) छापाखाना तथा प्रेस सम्बन्धी उद्योग
४२) सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग
४३) विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग
४४) औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले
उद्योग पूर्णरुपमा बन्द रहने स्थलहरु
सरकारले विश्वविद्यालय, क्याम्पसलगायत सबै शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, गैरखाद्यवस्तु विक्री विरतण गर्ने व्यवसायिक मलहरु, होटल, बार, रेष्टुरन्ट स्टोर, सिनेमा हल, धार्मिक संस्था, फन पार्क, पार्टी प्यालेस, सार्वजनिक भेला, रंगशाला, जिमसेन्टर, ब्युटी पार्लर सञ्चालन गर्न पाइदैन ।
१२ वर्षमुनिका बालबालिका, ७० वर्ष पुगेका ज्येष्ठ नागरिक, गर्भवती महिलाले घुमघाम गर्न पाउने छैनन् । आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक यात्रुवाहक हवाई उडान गर्न पाईने छैन । केवलकार र रेलसेवा सञ्चालनमा पनि रोक लगाइएको छ । नेपालको कुनै पनि भूभागमा संक्रमणको जोखिम बढी देखिएमा माथि उल्लेख गरिएका व्यवस्थाहरु स्थानीय प्रशासनले निश्चित अवधिसम्म सञ्चालनमा रोक लगाउन सक्नेछ ।