
हिन्दु धर्मशास्त्रअनुसार सात बारमा हरेक दिन फरक–फरक देवीदेवताको पूजा गरिन्छ । धार्मिक रूपमा शुक्रवार तीन किसिमको व्रत तथा पूजा गरिन्छ । यो दिन हिन्दु धवर्मावलम्बीहरुले भगवान् शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्छन् ।
साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । यिनीहरूको व्रत विधि भने अलग–अलग हुन्छन् । यो दिन सेतो कपडा लगाउनु पर्छ । शुक्रवार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ ।
खास गरेर महिलाहरू सन्तोषी माताको व्रत बस्छन् । माताको व्रत भौतिक सुख प्राप्तिको लागि बस्ने गरिन्छ । सन्तोषी माताको पूजापाठ व्रत बस्दा शोक, चिन्ता, आपतविपत् आइपर्दैन र धन–सम्पत्ती प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ ।
सुख–सौभाग्यको कामना गर्दै लगातार १६ शुक्रवार सन्तोषी माताको व्रत बसेपछि सन्तोषी माताको व्रत पूरा हुन्छ । सन्तोषी मातालाई धनकी देवी लक्ष्मीको अवतारका रूपमा समेत लिइन्छ ।
पूजा विधिका लागि आवश्यक सामग्री
सन्तोषी माताको तस्बिर, कलश, पानको पात, फूल, प्रसादका रूपमा चना तथा गुड, आरतीका लागि कपूर, अगरबत्ती, दीप, बेसार, कुमकुम (सिन्दूर) , कलश स्थापनाका लागि नरिवल र पहेँलो अक्षता
यी सामग्रीहरू तयारी पारेपछि सूर्योदय हुनु पूर्व नै उठेर घरलाई सरसफाइ गर्नुस् । नुवाई धुवाई गरेर पूजा प्रारम्भ गर्नुपर्छ ।
सबैभन्दा पहिले घरको पवित्र स्थानमा सन्तोषी माताको तस्बिर, मूर्ति, प्रतिमा राख्नुस् । उक्त तस्बिर नजिकै एक सफा भाँडोमा पानी भरेर त्यसमा चना र गुड राख्नुपर्छ । प्रतिमाको नजिक कलश राखी गाईको घ्यूको दियो, अगरबत्ती बाल्नुहोस् । पूजा सामग्रीहरू फूल, पानको पात, पहेँलो अक्षता, कुमकुम, नरिवललगायत प्रतिमाको वरिपरि राख्नुस् ।
त्यसपछि सन्तोषी माताको कथा वाचन गर्नुस् । पूजा सम्पन्न गरिसकेपछि अन्य भक्तजनहरूलाई उक्त गुड र चना प्रसादका रूपमा बाँड्नुस् ।
घरलाई पवित्र बनाउन उक्त भाँडोमा भएको पानी घरका कुना कुनामा छर्नुस् । हरेक शुक्रवार (१६ शुक्रवार) सम्म यही विधि अपनाउनुपर्छ ।
जुन दिन व्रतको समापन गरिन्छ त्यो दिन ८ जना बच्चालाई खीर र पुरीको भोजन गराउनुपर्छ । यसका साथै ती बालबालिकाहरूलाई दक्षिणका साथ केरालाई प्रसादका रुपमा ग्रहण गराउनुपर्छ ।
सन्तोषी माताको व्रत बस्ने व्रतालुले अमिलो फलफू, सागसब्जी सेवन गर्नुहुँदैन ।