
प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो बनाउने बेला नआइसकेको बताएका छन्।
कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिएमसी) ले तयार पारेको लकडाउन खुकुलो गर्ने ‘मोडालिटी’ लाई प्रधानमन्त्री ओलीले अहिले जरूरी नरहेको बताएका थिए।
‘सिएमसीले ग्रिन जोन, यलो जोन र रेड जोन बनाउने प्रस्ताव ल्याएको थियो,’ तर प्रधानमन्त्रीले भारतमा कोरोना संक्रमितको संख्या ५० हजान पुग्न लागेको भन्दै अहिलनै खुकुलो नबनाउने बताएका हुन् ।
सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा नोभल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति गठन गरेको थियो। समितिमा गृहमन्त्री, परराष्ट्रमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, कृषि तथा पशुपंक्षी विकास मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री र अर्थ र संचार तथा सूचना प्रविधि मन्त्री सदस्य रहेका छन्।
समितिको हिजोको बैठकमा विज्ञहरूलाई समेत सहभागी गराएर खाका तयार गरिएको हो । समितिले कम्तिमा दुई सातासम्म स्वरूप परिवर्तन गरेर लकडाउनलाई जारी राख्ने खाका तयार गरेको थियो ।
यता, भारतसँग सीमा जोडिएका इलाकामा जोखिम उच्च रहेको निष्कर्ष निकाल्दै सुरक्षा निकायका प्रमुखहरूले पनि त्यहाँ थप कडाइ र लकडाउनलाई निरन्तरता दिनुपर्ने सुझाव दिइसकेका छन् ।