
काठमाडौं । बाँकेको नेपालगन्जमा कोरोना संक्रमित बढेपछि निषधाज्ञा जारी गर्दै सेना परिचालन गरिएको छ । आजबाट २५ गते रातिसम्म लागु हुनेगरी नेपालगन्ज उपमहानगर क्षेत्रमा निषेधज्ञा जारी गरिएको हो ।
आजमात्रै नेपालगन्जमा थप सातजना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ । सातैजना नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । यसअघि आइतबार नेपालगन्जमै १५ जना संक्रमित फेला परेका थिए ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले संक्रमित बढेसँगै चु’नौती थपिएको बताए । उनका अनुसार पहिलो व्यक्तिको सम्पर्कमा आएका ९० जनाको परीक्षण गरिएकोमा २२ जनामा संक्रमण देखिनुले चुनौती थपिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार कोरोना संक्रमण देखिएका सबै एकै टोलका हुन् । जसमा ७ वर्षीय बालकदेखि ६० वर्षसम्मका छन् । सबैको अवस्था भने समान्य रहेको उपाध्यायले बताए । उनले भने, “कतिपयले नेपालभन्दा बाहिरका हुन् भन्ने हल्ला गरेको पाइयो त्यस्तो होइन, सबै नेपाली हुन् ।
कोही पनि विदेशबाट आएको देखिँदैन । त्यसैले समुदायस्तरमै फै’लिएको छ कि भन्ने चिन्ता बढेको छ । उनीहरुको कन्ट्याक्ट ट्रेसिङ र ट्राभल हिस्ट्री खोज्न पनि चुनौती थपिएको छ ।” उनका अनुसार स्वास्थ्यकर्मी, नेपाली सेनासहितको ’टोली सुरक्षामा सक्रिय भएको छ । सीमा क्षेत्रमा पूर्णरुपमा कडाइ गरिएको र महानगरभित्र प्रवेशमा रोक लगाइएको छ ।
स्थानीय सुरक्षा अधिकारीका अनुसार सुरुमा एकजना भारतबाट आएको र उनीबाटै कोरोनाभाइरस फैलिएको खबर चर्चामा आए पनि त्यसको पुष्टि हुन सकेको छैन । संक्रमित मध्ये एकै परिवारका तीनजनासम्म छन् ।
कोरोनाभाइरसको परीक्षण नहुँदासम्मको स्थिति सामान्य मानिए पनि अब भने सबैलाई झस्काएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी उपाध्याय भन्छन्, “विदेशबाट आएकाहरु भए कन्ट्याक्ट ट्रेसिङ र ट्राभल हिस्ट्री खोज्न सहज हुन्थ्यो ।
तर उनीहरु सबै स्थानीय हुन् । आजसम्म कता–कता पुगे, क–कसको सम्पर्कमा पुगे । कहिलेबाट उनीहरु संक्रमित थिए यो विषय गम्भीर बनेको छ ।” उनीहरुबाट अरुमा पनि कोरोना फैलिएको छ कि भन्ने त्रास पनि बढेर गएको छ । उपाध्यायले निषेधाज्ञा कडाइका साथ लागु गरिने बताए ।