
सरकारले वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपिरषद् बैठकले २६ गते ४ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने एक मन्त्रीले जानकारी दिए।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नेछन्।
सामाजिक दूरी कायम गरी संसदको अधिवेशन गराउन व्यवस्था मिलाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार संसद भवनको बैठक चलाउन भइरहेको तयारीबारे निरीक्षण गरेका थिए।
संवैधानिक व्यवस्थाअनुसार आगामी जेठ १५ भित्र सरकारले आगामी आर्थिक वर्षको वार्षिक बजेट सार्वजनिक गरिसक्नु पर्ने हुन्छ ।
बजेट सार्वजनिक गर्नु अगाडि सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्नु पर्ने हुन्छ ।
हालसम्म शुरु भइसक्नुपर्ने संसदको बजेट अधिवेशन कोरोना भाइरसको महामारीका कारण शुरु हुन सकेको छैन ।
संघीय संसद सचिवालयले संसदको बजेट अधिवेशन सञ्चालन गर्नका लागि आवश्यक तयारी लगभग पूरा भइसकेको जनाएको छ । सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री ओलीलाई भेटेरै जतिसक्दो छिटो संघीय संसदको बजेट अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्न आग्रह गरेका छन् ।
सभामुख सापकोटाले कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै सामाजिक दूरी कायम हुने गरी संसद बैठक सञ्चालन गर्न सकिने प्रधानमन्त्रीलाई जानकारी दिएका थिए ।
प्रधानमन्त्री ओलीले केही दिन अगाडि संसद बैठक सञ्चालनका लागि संघीय संसद भवनमा भइरहेको तयारीबारे स्थलगत निरीक्षण गरेका थिए ।