
डडेल्धुरामा क्वारेन्टाइनमा बसेका एक बालकको ज्यान गएको छ । नवदुर्गा गाउँपालिका–३ का साढे ६ वर्षका बालकको आइतबार राति १२ बजे मृत्यु भएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।
जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बालकको ज्यान गएको उनले जानकारी दिए ।
आमा–बाबुसँगै उनी भारतको मुम्बइबाट आइतबार राति मात्रै डडेल्धुरा पुगेको पाइएको प्रहरीले जनाएको छ । ‘राति पुगेकाले बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो’ डीएसपी न्यौपानेले भने, ‘हामीलाई बालक गम्भिर छन् भनेर आयो । यताबाट गाडी पठाएर अस्पताल पुर्याएका थियौं ।’
बालकको अस्पताल पुर्याउनु भन्दा अघि नै मृत्यु भएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले बताए । उनका अनुसार ती बालकलाई बिहान ३ बजे अस्पताल पुर्याइएको थियो ।
उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ । उनको आइतबार नै कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिने निमित्त मेसु विष्ट जानकारी दिए ।