
काठमाडौं, १७ जेठ । विश्वव्यापी महामारीको रुप लिएको नोभेल कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः बढ्दै गएको छ । सङ्क्रमण दर बढेसँग जोखिमको चुनौती पनि उत्तिकै छ ।
कूल एक हजार ४०१ सङ्क्रमितमध्ये पछिल्लो एक सातामा मात्रै ८०४ जनामा रोग देखियो । जेठ १४ पछि चार दिनमा दैनिक सय भन्दामाथि सङ्क्रमित भेटिए । उक्त चार दिनमा मात्रै ६२९ संक्रमित फेला परे । शुक्रबार १७० जनामा देखिएको कोभिड–१९उन्नाइसले बढेर आज सबैभन्दा बढी १८९ जनामा देखियो ।
गत माघदेखि शुरु भएको सङ्क्रमण चैतमा फाट्टफुट्ट थियो । वैशाखको अन्तिमबाट बढ्न थालेको सङ्क्रमण जेठको दोस्रो सातापछि ह्वात्तै देखियो । पछिल्लो जेठ १२ पछि भने सङ्क्रमणको गति झन् बढ्दो छ ।
यही जेठ १६ गते शुक्रबार पाँच महिलासहित १७० जनामा कोभिड–१९ पुष्टि भएको थियो ।
आइतबार १९, सोमबार ७९, मंगलवार ९०, बुधवार १ सय १४, बिहिवार १५६, शुक्रबार १७० र शनिवार १८९ गरेर जम्मा एक हप्तामै ८०४ जना संक्रमित थपिए ।
मन्त्रालयले दिएको विवरणअनुसार आजसम्म कोभिड–१९ का कारण छ जनाले ज्यान गुमाएका छन् । अन्य मुलुकभन्दा नेपालमा मृत्युदर न्यून छ । मृतकको नजिक रहेका व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङको काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
चीनको उहानबाट आएका एक नेपालीमा विसं २०७६ माघ ९ मा कोभिड– १९ पुष्टि भएको थियो । चीनबाट आएपछि उनी पुस १६ मा चिकित्सकको सम्पर्कमा गएकामा पुस २८ गते भर्ना भएका थिए । माघ ९ गते उक्त भाइरस रहेको पुष्टि गरिएको थियो । पुष्टि गर्न विश्वस्वास्थ्य सङ्गठनको हङ्कङस्थित प्रयोगशालामा परीक्षण गराउनुपरेको थियो । तर अहिले नेपालका २० भन्दाबढी स्थानबाट यसको परीक्षण हुँदै आएको छ ।
त्यसपछि फागुनमा नदेखिएको सङ्क्रमण चैतमा मात्रै फेला परेको थियो । फ्रान्सबाट कतारको दोहो हुँदै नेपाल आएकी युवतीमा चैत १० मा दोस्रो कोभिड–१९ पुष्टि भएको थियो । युवती चैत ४ गते नेपाल आएकी थिइन् । चैत १२ गते तेस्रो व्यक्तिमा देखिएको सङ्क्रमण अहिले दैनिकरुपमा बढ्दो छ ।