भक्तपुर : भक्तपुरको मध्यपुर थिमि नगरपालिका- ६ बहाखाबजारस्थित एनआईसी एसियाको एटीएम फुटाउँदै गरेका एक युवकलाई शनिबार बिहानै प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुर थिमि नपा -७ नगदेश बस्ने २१ वर्षीय सचिन तामाङलाई बिहान सवा दुई बजे नियन्त्रणमा लिएको हो। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार तामाङले सजीव चित्रकारको साढे चार तले घरको भूईतलामा रहेको एनआईसी एसिया बैंकको एटीएम फुटाएर पैसा चोरी गर्ने प्रयास गरिरहेका थिए।
स्थानीयले चाल पाएर प्रहरीलाई खबर गरेका थिए। खबर पाउनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट प्रहरी निरीक्षक राजीव गिरीको कमाण्डमा खटिएका सात जनाको प्रहरी टोलीले उनलाई रंगेहात नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।
प्रहरी टोलीले तामाङलाई एकथान ह्याम्मर, एकथान स्क्रुसहित नियन्त्रणमा लिएको उनले बताए। प्रधानका अनुसार एटीएममा सामान्य क्षति पुगेको छ। एटीएममा क्षति पुर्याउने तामाङलाई महानगरीय प्रहरी वृत्त ठिमीको नियन्त्रणमा राखिएको छ।
गत बैशाख १८ गते धनगढी जिल्लाको गोदावरी नगरपालिकास्थित अत्तरियामा रहेको एनआईसी एसिया बैकको एटीम मेसिन फुटाएर रकम चोरीको प्रयास भएको थियो ।