
राष्ट्रिय मुस्लिम आयोगले ईदुल फित्रका दिन घरमै बसेर नमाज पढ्न आग्रह गरेको छ ।
मुस्लिम आयोगको आइबार बसेको बैठकपछि आयोगका अध्यक्ष समिम मिया अन्सारीले ईदुल फित्रका दिन पनि घरमै बसेर नमाज पढ्न आग्रह गरे ।
रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदुल फित्रका दिन मस्जिद र मदरासामा गइ सामूहिक रुपमा नमाज पढ्ने गरिन्छ ।
यस वर्ष कोरोना भाइरसको महामारीको स्थितिलाई ख्याल गरी पर्वलाई घरमै बसेर मनाउन आयोगले आग्रह गरेको हो । रमजानको सुरुको दिन पनि कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ख्याल गर्दै इस्लाम धर्मावलम्बीहरुले घरमै बसेर नमाज पढेका थिए ।
ईदको नमाज पढेपछि छरछिमेकमा पुगेर एकअर्कामा शुभकामना आदान प्रदान नगर्नसमेत अन्सारीले आग्रह गरेका छन् ।
इस्लाम धर्ममा रमजानको एक महिना लामो व्रत तोड्ने दिन ईदुल फित्र मनाउने गरिन्छ । यस दिन सामूहिक नमाज पढेर विशेष रुपमा मनाइने गरिन्छ ।
ईदलाई आपसी सद्भावको चाडको रुपमा पनि हेरिने गरिएको छ । यस वर्षको ईदुल फित्र आउँदो आइतबार मनाइँदैछ । रमजान महिनामा कुरानको अवतरण पृथ्वीमा भएको भन्ने विश्वास इस्लाम धर्मावलम्बीहरुले गर्दछन् ।