अमेरिका : कोरोना भाइरस संक्रमणका कारण अमेरिकाको भर्जिनिया राज्यमा बसोबास गर्ने गैरआवासीय नेपाली महेश पन्थीको निधन भएको छ। भर्जिनिया राज्यको सेन्टरभिलमा बस्दै आएका पन्थीको मंगलबार बिहान उपचारका क्रममा अस्पतालमा निधन भएको हो।
कोभिड–१९ बाट संक्रमित पन्थीको विगत २० दिनदेखि इनोभा फेयर ओक्स अस्पतालमा उपचार भइरहेको थियो। नेपालमा ललितपुर कुपन्डोल घरभएका पन्थीका आमा, एक श्रीमती, एक छोरा र एक छोरी छन्। उनी एक दशकदेखि अमेरिका थिए। पूर्वभलिबल खेलाडीसमेत रहेका पन्थीको निधनप्रति स्थानीय संघ संस्थाहरुले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन्।
बाल्टिमोर एशोसियन अफ नेप्लिज इन अमेरिका (बाका)का पूर्व अध्यक्ष विजय श्रेष्ठले पन्थीको निधनमा दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन्। हालसम्म अमेरिकामा कोरोना संक्रमणका कारण पन्थीसहित ११ जनाको मृत्यु भइसकेको छ।