
काठमाडौं – कञ्चनपुरमा एक प्रहरी जवानमा र्यापिड डाइग्नोस्टिक टेष्ट आरडीटी गर्दा कोरोना पोजेटिभ देखिएको छ । बिहीबार कञ्चनपुरमा कार्यरत उक्त प्रहरी जवानमा आरडीटी गर्दा कोरोना पोजेटिभ देखिएको जनाइएको छ ।
आरडीटी गर्दा कोरोना पोजेटिभ देखिएपनि कोरोना संक्रमण भएको नभएको थाहा नहुने हुनाले थप परिक्षणको लागि उनको स्वाब धनगढीस्थित प्रयोगशालमा लाने तयारी गरिएको जनाइएको छ । नेपालमा बिहीबार मात्र थप २ जनामा कोरोना पुष्टी भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । त्यस्तै आज कोरोनाको उपचारपछि निको भई ३ जना घर फर्किएका छन् । यससँगै कोरोनाको उपचारपनि निको भई घर फर्किने नेपालीको संख्या १० पुगेको छ ।
किन देखिन्छ आरडीटीमा पोजेटिभ तर पिसिआरमा नेगेटिभ ?
हाल यस्ता धेरै केसहरु छन् जसमा आरडीटी टेष्ट पोजेटिभ आएको छ भने रियल टाईम पिसिआर टेष्ट नेगेटिभ आएको छ ।
आरडीटी पोजेटिभ आउनु र पिसिआर नेगेटिभ आउनुको अर्थ उक्त व्यक्तिलाई ३ हप्ता अगाडी कोरोनाभाईरस संक्रमण भएको र हाल उ कुनै पनि व्यक्तिमा कोरोनाभाईरस सार्न नसक्ने अवस्थामा रहेको बुझिने विज्ञहरुको बताउँछन् ।
यदि आरडीटी नेगिटिभ र पिसिआर पोजेटिभ आउँछ भने त्यसको मतलब उक्त व्यक्ति भर्खरै मात्र काेभिड-१९ बाट संक्रमित भएको हो भन्ने बुझिन्छ । दुवै नतिजा पोजेटिभ आउनुको अर्थ उक्त व्यक्ति कम्तिमा पनि दुई हप्ता अगाडि संक्रमण भएको बुझिन्छ ।