
बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदी माथि निर्माण थालिएको नेपालकै सबै भन्दा लामो झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) कारण नेपालमा चैत्र ११ गते देखि जारी लकडाउनका कारण अन्य विकास निर्माण कार्य ठप्प भएको सन्र्दभमा नेपालकै लामो झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।बागलुङ नगरपालिका–१ रामरेखा देखि कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने गरी निर्माण थालिएको झोलुङ्गे पुल वैशाखको शुरुमै निर्माण सम्पन्न भएको हो ।
सस्पेन्सन ब्रिज डिभिजन कार्यालय, काठमाण्डौका अनुसार ठेक्का सम्झौता भन्दा तीन महिना अघिनै पुल निर्माण कार्य सकिएको बताएको छ । लामो पुलको निर्माण कार्य सकिएर हस्तान्तरणको तयारीमा रहेको पुल निर्माणको जिम्मा पाएको थानी/बिएलटी/हिमशिखर कन्ट्रक्सनका प्रतिनिधि नरहरी खड्काले जानकारी दिनुभयो । “हामीले लकडाउनमा समेत पुल निर्माण गर्न रोकेनौं” खड्काले भन्नुभयो “वैशाखको शुरुमै निर्माण सकिएको पुल वैशाख ९ गते हस्तान्तरणको तयारीमा थियौं, लकडाउनले हस्तानतरण गर्ने कार्य स्थगन भएको छ ।” लकडाउ खुलेपछि हस्तान्तरण भए लगत्तै उक्त पुल सर्वसाधरणका लागि खुला गरिनेछ ।
खड्काका अनुसार झोलुङ्गे खुल्ला प्रकृतिमा ५७६ मिटर लामो पुल निर्माण नेपालमै पहिलो पटक निर्माण सम्पन्न भएको हो । कञ्चनपुरको महाकाली नदीमा बनाइएको मल्टीस्पान प्रकृतिको चाँदनी–दोधारा पुल एशियामा लामो मानिने भएता पनि यहाँ बन्न लागेको पुल खुल्ला प्रकृतिको पहिलो हो । २०७६ फागुनमै सक्ने भनिएको पुल दुईवटा राजमार्गमाथीबाट लठ्ठा तान्दा समय लागेको थियो । निर्माण कम्पनीले पर्वत र बागलुङ तर्फका दुवै राजमार्गमा रोकावट नहुँने गरी चिनियाँ प्रविधिको औजारले लठ्ठा तानेको थियो ।२०७५ चैतदेखि शुरु भएको पुल निर्माण कार्य आगामी २०७७ साल असार मसान्तमा सम्पन्न गर्ने ठेक्का सम्झौता भएपनि तीन महिना अगावै पुल निर्माण सम्पन्न भएको हो ।
पहिलोपटक निर्माण थालिएको नेपालकै लामो पुल निर्माणमा ठूलो चुनैति भएपनि सबैको सहकार्यमा निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । उक्त निर्माण कम्पनीले पहाडी भेगका खोच तथा नदीहरुमा लामा झोलुङ्गे पुल निर्माण गर्दै आएको खड्काको भनाई रहेको छ ।नेपालमा अधिकांश निर्माण कम्पनीले कामको जिम्मा लिए पनि समयमै निर्माण कार्य नसकेको अवस्थामा ठेक्का सम्झौता भन्दा अगावै निर्माण कार्य सम्पन्न भएको छ । लठ्ठा तान्नका लागि दुवै जिल्ला तर्फ रहेका विद्युतका तार व्यवस्थापन र मध्यपहाडी लोकमार्गको मालढुंगा–बागलुङ खण्ड एवम् मालढुंगा–बेनी सडकमा सवारी आवत जावतमा कुनै समस्या नलिइकन सम्पन्न भएको खड्काले बताउनुभयो ।
पुलको लठ्ठा तान्नका लागि निर्माण कम्पनीले उच्च स्तरको चिनियाँ प्रविधिको प्रयोग गरेको थियो । बागलुङ नगरपालिका–१ रामरेखा र पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने गरि निर्माण गरेको ५६७ मिटर लामो र १३८ मिटर अग्लो रहेको छ ।यसले दुई जिल्लाको पर्यटन तथा आर्थिक विकासमा ठुलो टेवा पुग्ने अपेक्षा गरिएको छ । पुल निर्माण संगै पाङ पुग्न लाग्ने ४५ मिनेट १० मिनेटमा छोटिएको छ ।बि.स २०५९ सालदेखि पुल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको भएपनि लठ्ठा तान्न नसक्ने भन्दै काम शुरु हुन सकेको थिएन ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलको विशेष पहलमा रु.४० लाखमा लठ्ठा तान्ने औजार चिनबाट खरिद गर्न अर्थमन्त्रालयले स्विकृति दिए पछि पुल निर्माण थालिएको थियो । अत्याधुनिक उपकरणबाट पुलका लठ्ठा तानेको नेपालमा पहिलो पटक हो । सस्पेन्सन वृज डिभिजन कार्यालयले ४ सय मिटर भन्दा लामो पुल निर्माण गर्दा अब देखि यही औजारको सहायता लिनेछ । अहिले सम्म नेपालमा ७ हजार ५ सय बढी झोलुङ्गे पुल रहेका छन् । शुरुमा रु.१२ करोड २२ लाख लागत अनुमान गरिए पनि लठ्ठा र लठ्ठा तान्ने मेसिन मन्त्रालयले उपलब्ध गराउने भएपछि रु.६ करोड ९१ लाखमा सम्झौता भएको थियो ।