मोरङको बुढिगंगा गाउँपालिका–१ की युवतिमा कोरोना भाइरसको एण्टीबडी देखिएको छ । करीव एक महिनाअघि बैङ्लोरबाट अध्ययन गरी घर आएकी २७ वर्षीया युवतिको द्रुत पहिचान परीक्षण अर्थात र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गर्दा उनको रिपोर्ट पोजेटिभ देखिएको जनाइएको छ ।
बुढिगंगा–३ स्थित सामुदायिक स्वास्थ्य केन्द्रमा गरिएको आरडीटी परीक्षणका क्रममा एण्टीबडी पोजेटिभ भेटिएको वडा नम्बर १ का वडाध्यक्ष युवराज पौडेलले बताए । उनको स्वाब परीक्षणका लागि कोसी अस्पताल लैजान आवश्यक तयारी गरिरहेको जनाइएको छ । युवति गत चैत १० गते घर आइपुगेकी थिइन् । उनीसँगै आएकी अर्की युवतिको रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ ।
किन देखिन्छ आरडीटीमा पोजेटिभ तर पिसिआरमा नेगेटिभ ?
हाल यस्ता धेरै केसहरु छन् जसमा आरडीटी टेष्ट पोजेटिभ आएको छ भने रियल टाईम पिसिआर टेष्ट नेगेटिभ आएको छ ।
आरडीटी पोजेटिभ आउनु र पिसिआर नेगेटिभ आउनुको अर्थ उक्त व्यक्तिलाई ३ हप्ता अगाडी कोरोनाभाईरस संक्रमण भएको र हाल उ कुनै पनि व्यक्तिमा कोरोनाभाईरस सार्न नसक्ने अवस्थामा रहेको बुझिने विज्ञहरुको बताउँछन् ।
यदि आरडीटी नेगिटिभ र पिसिआर पोजेटिभ आउँछ भने त्यसको मतलब उक्त व्यक्ति भर्खरै मात्र काेभिड-१९ बाट संक्रमित भएको हो भन्ने बुझिन्छ । दुवै नतिजा पोजेटिभ आउनुको अर्थ उक्त व्यक्ति कम्तिमा पनि दुई हप्ता अगाडि संक्रमण भएको बुझिन्छ ।