
मकवानपुर । हेटौंडामा चारजना व्यक्तिको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना भाइरसको एन्टिबडी परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको छ । जिल्ला स्वास्थ्य कार्यालय हेटौंडाका प्रमुख प्रणय उपाध्यायको अनुसार हेटौंडा–४ वासुदेव सभागृहमा भएको र्यापिड टेस्टमा चारजनाको पोजिटिभ आएको हो।
बासुदेव सभागृहमा भएको ४० जनाको टेस्टमा एक महिला र ३ पुरुषमा रिपोर्ट पोजिटिभ आएको टेस्टमा संलग्न मेलानका केन्द्रीय सचिवालय सदस्य उत्सव चौलागाईंले बताए।
उनीहरुमध्ये भारत बिहार घर भइ हाल हेटौंडा–४ आफ्न्तमा आएकी ५५ वर्षीय एक महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ वर्षीय एक वृद्ध, भारत बैंग्लौरबाट फर्किएका हेटौंडा–५ का २४ वर्षीय एक युवक र साउदी अरबबाट फर्किएका ३२ वर्षीय एक युवक रहेका छन्।
उनीहरुलाई पीसीआर जाँचका लागि स्वाब संकलनका लागि हेटौंडा अस्पताल लगिएको छ।
र्यापिड टेस्टमा पोजिटिभ पाइएकाहरुका परिवार, नियमित सम्पर्क हुनेहरुको पनि स्वाब संकलनका लागि अस्पताल लगिएको छ।