
धनकुटा हात्तिखर्क, माकलुङ्गका ८२ वर्षिय हरिमान तामाङ्गको कोरोना भाइरस संक्रमणका कारण बेलायतमा हिजो (बुधबार) साँझ मृत्यु भएको छ ।
बेलायतमा कोरोना भाइरस महामारीका कारण ज्यान गुमाउने नेपालीको संख्या बढ्दै गएको छ ।
बेलायतमा कोरोना भाइरस संक्रमणबाट फेरि एक भुपू गोर्खा सैनिकको ज्यान गएको हो । लण्डन (बेलायत) को हिलिङडनबरोको ‘वेस्टड्रेटन’ मा बस्दै आएका ८२ वर्षीय हरिमान तामाङको बुधबार साँझ कोरोनाको संक्रमणका कारण ज्यान गएको हो ।
स्वास्थ्यमा समस्या आएपछि पाँच दिनअघि अस्पताल भर्ना भएका तामाङलाई कारोना ‘पोजिटिभ’ देखिएको थियो । धनकुटा हात्तिखर्क, माकलुङ्ग घर भएका तामाङ उनकी श्रमती, छोरी र ज्वाईंसँगै लण्डन बस्दै आएका थिए ।
उनका एक छोरा भने अष्ट्रेलियामा बस्दै आएका छन् । बुधबार नै कोरोना संक्रमणबाट अर्का ५८ वर्षीय भुपूगोर्खा लक्ष्मण श्रेष्ठको मृत्यु भएको थियो ।
त्यस्तै बेलायतस्थित ननिटनमा बस्दै आएका ७८ वर्षीय हस्तावीर गुरुङको पनि बुधबार नै मृत्यु भएको छ । उनको मृत्यु कोरोना संक्रमणबाट भनिए पनि पुष्टि हुन भने बाकी रहेको जनाइएको छ ।
बेलायतमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेहरुमा भूपू गोर्खा मात्र एक दर्जन नाघिसकेका छन् । बेलायतमा सयौं नेपाली संक्रमित भएको आशंका छ । एक दर्जन भन्दा धेरै अस्पतालमै भर्ना भएर उपचार गराइरहेका छन् ।