
३० चैत डडेलधुरा : डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका २ जना भागेका छन्। कोरोना भाइरस (कोभिड–१९) को आशंकामा डडेल्धुरास्थित डडेल्धुरा अस्पतालको आइसुलेसन वार्डमा भर्ना गरिएका उनीहरु शनिबार दिउँसो भागेका हुन्।
कोभिड–१९ को आशंकामा तीन दिनअघि अस्पतालमा भर्ना भएका उनीहरू अस्पताललाई जानकारी नदिइ भागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जगदीशचन्द्र विष्टले जानकारी दिए ।
डा.विष्टका अनुसार उनीहरुलाई तीन दिन अघि आइसोलेसन वार्डमा भर्ना गरिएको थियो। उनीहरु दुवैजनाको नमुना संकलन गरेर काठमाडौं पठाइएको छ।
‘दिउँसोसम्म यतै थिए । पछि हेर्दा अस्पतालमा भेटिएनन्,’ निमित्त मेडिकल सुपरिटेन्डेन्ट विष्टले भने, ‘दुबै जनाको स्वास्थ्य अवस्था सामान्य नै थियो।’
अस्पतालबाट भागेका उनीहरूहरू भागेश्वर गाउँपालिका- ३ नानीगाडका व्यक्ति रहेको र अहिले उनीहरूको प्रहरी र गाउँपालिकाले खोजी गरिरहेको छ ।
भागेका उनीहरू आमा–छोरा रहेको भागेस्वर गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताइन् । छोरा भारतबाट आएको बुझिएको छ।
उनीहरूको खोजी कार्य तीव्र पारेको डडेल्धुरा प्रहरीले जनाएको छ। उनीहरूको खोजीका लागि खबर पाउने वितिक्कै प्रहरी परिचालन गरेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।