
भारतको धारचुलामा अलपत्र परेकामध्ये महाकाली नदी पौडेर नेपाल फर्किएका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महाकाली नगरपालालिका ४ पुलघाट बजार नजिकैबाट उनीहरू सोमबार (आज) दिउँसो नेपाल प्रवेश गरेका थिए ।
पौडी खेली नेपाल प्रवेश गरेका तीनै जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । पौडेर नेपाल प्रवेश गर्नेमा बैतडी डिलाशैनी गाउँपालिकाका इन्द्रराज खत्री, दार्चुलाको मार्मा गाउँपालिकाका रमेश विष्ट र शैल्यशिखर नगरपालिकाका धनबहादुर स्वदेश प्रवेश गरेको प्रहरीले जनाएको छ ।
उनीहरू भारतको विभिन्न ठाउँमा मजदूरी गरी घर फर्किँदा नेपालमा ‘लकडाउन्’ भएको थियो भने सीमा पुल बन्द गरिएको थियो । उनीहरुसँगै सयौं नेपाली अझै सीमा अलपत्र छन् । पुल खोल्न प्रमुख जिल्ला अधिकारीसँग आग्रह गर्न पौडी खेलेर नेपाल आएको खत्रीको भनाइ छ । आफूहरूको माग सरकारले नेपाल आउन दिनुपर्ने रहेको उनीहरूले बताए ।