
जेनेभा : कोभिड १९ महामारी विरुद्ध जुटिरहेका स्वास्थ्यकर्मीहरुका लागि रक्षात्मक उपकरणको अभाव सबैभन्दा ठूलो खतरा रहेको विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।‘विश्वव्यापी रुपमा पीपीईको अभाव जीवन बचाउन हाम्रो सामुहिक क्षमताका लागि सबैभन्दा जटिल खतरामध्ये एक हो,’ विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम घेब्रेससले भनेका छन् ।शुक्रबार जेनेभामा पत्रकार सम्मेलनको क्रममा उनले यस्तो बताएका हुन् ।टेड्रोसले भनेका छन्, ‘न्युन र मध्यम आय भएका मुलुकका स्वास्थ्यकर्मी पनि धनी देशका स्वास्थ्यकर्मी जत्तिकै सुरक्षाका लागि योग्य छन् ।’
टेड्रोसका अनुार डब्लूएचओले ७४ देशका २० लाख स्वास्थ्यकर्मीलाई पीपीई पठाएको छ । साथै उत्तिकै संख्यामा अन्य ६० देशमा पनि पठाउने तयारी थियो ।तर यो समस्या अन्तर्राष्ट्रिय सहकार्य र ऐकवद्धताबाट मात्रै समाधान हुने उनको भनाइ छ । साथै उनले जी २० मुलुकहरुलाई जीवनरक्षाका लागि आफ्नो औधोगिक शक्ति र आविष्कार प्रदर्शन गरी आवस्यक उपकरण उत्पादन र वितरण गर्न आग्रह गरेका थिए । यसवाहेक भावी पुस्ताका लागि आफूहरुले वाचा गर्नुपर्ने पनि टेड्रोसको भनाइ थियो ।कोरोना भाइरसको महामारीबाट विश्वभर २५ हजार भन्दा धेरैको मृत्यु हुनुका साथै ५ लाख भन्दा धेरै संक्रमित भएका छन् ।
विश्व स्वास्थ्य संगठन सहित शक्तिशाली देश समेत यसको रोकथाम गर्न सफल भएका छैनन् ।‘हामी यो लडाइँको सुरुवातमा मात्रै छौँ । हामी शान्त रहनुपर्छ, एकीकृत हुनुपर्छ र सँगै काम गर्नुपर्छ,’ टेड्रोसले भनेका छन् । यसैबीच उनले उपचार भइसकेका एक लाख भन्दा धेरै मानिसहरुलाई सम्झन पनि आग्रह गरे । उनले कम्तिमा १८ महिनामा खोप विकास भइसक्ने पनि जानकारी दिए । यसका लागि नर्वे र स्पेनले यही शुक्रबार परीक्षण गरेको जानकारी दिए ।