कञ्चनपुरको कृष्णपुर नगरपालिका १ निगालीका शारीरिक अपाङ्गता भएका लाली भुलले धेरै पटक नगरपालिका कार्यालयमा सामाजिक सुरक्षा भत्ताका लागि निवेदन दिए पनि भत्ताको रकम पाइनन् । आवश्यक कागजात पुरयाउन नसक्दा उनी भत्ता पाउनबाट बञ्चित हुनु परेको हो ।
नगरपालिका कार्यालयबाट उपलव्ध हुने भत्ताको रकम नपाएकोमा भने उनी चिन्तित छैनन् किनभने उनलाई कञ्चनपुरले प्रिपेड कार्ड उपलव्ध गराएको छ ।
कार्डबाट उनले आवश्यक सामान खरिद गर्दै आएकी छिन् । लत्ताकपडा, खाद्यान्न, औषधिलगायतका सामान खरिद गर्ने कार्यसँगै आवश्यक परेको बेला नगदसमेत कार्डका माध्यमबाट झिक्दै आएको उनी बताउँछिन् । “भत्ताका लागि नगरपालिका कार्यालयमा धेरै पटक पुग्दा कागजात नपुगको भनेर फर्काउने गरियो”, उनले भनिन्, “घर खर्च चलाउन निकै असजिलो भएको अवस्थामा प्रिपेड कार्डले गुन लगाएको छ ।”
सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित रहेका, प्रक्रियामा रहेका र कोभिडबाट प्रभावित, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, एकल महिला, दलित पोषण भत्ताबाट बञ्चितलाई प्रिपेड कार्ड उपलव्ध गराइ भत्तावापतको रकम उपलव्ध गराइदै आएको छ ।
कार्यक्रम अन्र्तगत कृष्णपुर र दोधारा चाँदनी नगरपालिकाका लक्षित व्यक्तिलाई कार्ड दिइएको छ । कार्डबाट रु १३ हजार ५०० मूल्य बरावरको सामान खरिद गर्न सकिन्छ । त्यसका लागि सम्बन्धित ठाउँका पसलमा कार्ड स्वीप गर्नका लागि मेसिनको समेत व्यवस्था गरिएको छ ।
कृष्णपुर नगरपालिकाका ४२० र दोधारा चाँदनीका ८८ जनालाई कार्ड उपलव्ध गराइएको छ ।