काठमाडौँ । एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोली सार्वजनिक गरेको हो ।
क्यानका सचिव पारस खड्काद्वारा जारी प्रेस विज्ञप्तिअनुसार टोलीमा अनुभवी तथा युवा खेलाडीलाई समेटिएको छ । घोषित टोलीमा कप्तान सन्दीप लामिछानेसहित लोकेश बम, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेक गौतम, इशान पाण्डे, राशिद खान र देव खनाल रहेका छन् ।
कतारमा नोभेम्बर १९ देखि सुरु हुने प्रतियोगितामा नेपालले समूह चरणमा तीन खेल खेल्नेछ । नेपालले नोभेम्बर २० मा भारत, नोभेम्बर २२ मा संयुक्त अरब इमिरेट्स (युएई) र नोभेम्बर २४ मा पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।
प्रतियोगितामा नेपाली टोलीले समूह चरणबाटै अर्को चरणमा पुग्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछ ।