काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२०आई अलराउन्डर वरियतामा एक स्थान खस्किएका छन् ।
आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार दीपेन्द्र पाँचौँ स्थानबाट छैटौँमा झरेका हुन् । यद्यपि, उनको रेटिङ अंक भने २५५ नै कायम छ ।
नेपाली पुरुष क्रिकेट टोलीले गत अक्टोबरमा एसियन गेम्स खेलेयता टी–२०आई क्रिकेट खेलेको छैन । यसबीच दीपेन्द्रभन्दा तल रहेका अफगानिस्तानका अलराउन्डर अजमतुल्लाह ओमरजाइले जिम्बाब्वेसँगको टी–२०आई शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
उक्त प्रदर्शनका आधारमा ओमरजाइ तीन स्थान सुधार गर्दै छैटौँबाट तेस्रो स्थानमा उक्लिएपछि दीपेन्द्र एक स्थान तल झरेका हुन् ।
नयाँ वरियताको शीर्ष स्थानमा जिम्बाब्वेका सिकन्दर राजा कायम छन् । उनको रेटिङ अंक ३३१ पुगेको छ । दोस्रो स्थानमा पाकिस्तानका सायम अयुब यथावत् छन् ।
त्यस्तै, चौथो स्थानमा वेस्ट इन्डिजका रस्टन चेज र पाँचौँ स्थानमा इंग्ल्यान्डका विल ज्याक्स रहेका छन् ।