चन्दा क्षेत्री/काठमाडौं । दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न काठमाडौं आइपुगेका छन्। नेपाल पहिलोपटक आएका मिलरले यहाँको प्राकृतिक सुन्दरता र क्रिकेटप्रतिको उत्साहको प्रशंसा गरेका छन्।
‘लामो समयदेखि क्रिकेट खेलिरहेको छु र विश्वका विभिन्न देशमा पुगिसकेको छु। तर यो यस्तो सुन्दर देश हो, जहाँ म यसअघि कहिल्यै आएको थिइनँ,’ काठमाडौं आइपुगेपछि उनले भने, ‘विमानबाट यहाँ आउँदा देखिएका हिमाल र प्राकृतिक दृश्य साँच्चिकै अविश्वसनीय थिए। आगामी दुई–तीन हप्ता यहाँ बिताउन पाउँदा निकै उत्साहित छु।’
नेपालमा क्रिकेटको विकास भइरहेको र खेलप्रति नेपाली समर्थकको लगाव आफूले महसुस गरेको उनले बताए। सन् २०२४ को टी–२० विश्वकपमा नेपालले दक्षिण अफ्रिकालाई कडा चुनौती दिएको प्रसंग उल्लेख गर्दै उनले भने, ‘उनीहरूले हामीलाई लगभग हराएका थिए, तर अन्ततः हामीले जित्यौँ।’
एनपीएलमा आफ्नो टोली कर्णाली याक्सको प्रदर्शनप्रति पनि मिलर आशावादी देखिएका छन्। टोलीले खेलेका तीनमध्ये दुई खेल जितेको उल्लेख गर्दै उनले बाँकी खेलमा योगदान दिने अपेक्षा व्यक्त गरे।
‘अहिलेसम्म खेलाडीहरूले निकै राम्रो प्रदर्शन गरेका छन्। आशा छ, म आएपछि टोलीका लागि केही योगदान दिन सक्नेछु,’ उनले भने।
नेपालमा क्रिकेटको विकासका लागि प्रतिभासँगै खेलप्रतिको उत्साह र लगाव आवश्यक रहेको मिलरको भनाइ छ। विमानस्थलमै नेपाली समर्थकको क्रिकेटप्रतिको उत्साह महसुस गरेको उल्लेख गर्दै उनले यहाँ पर्याप्त सम्भावना रहेको बताए।
‘क्रिकेटको विकासका लागि यस्तै ऊर्जा र खेलप्रतिको लगाव आवश्यक हुन्छ। यहाँ त्यो प्रशस्त छ,’ उनले भने।
नेपाली दर्शकमाझ खेल्न र उनीहरूसँग रमाउन आफू उत्साहित रहेको मिलरले बताए।