काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका लागि नेपाल आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले आजदेखि राजनीतिक भेटघाट सुरु गरेका छन् ।
बुधबार बिहान काठमाडौं आइपुगेका विदेश सचिव मिश्रीले विमानस्थलबाटै आफ्नो भेटघाटलाई अघि बढाएका हुन् । उनले आजै परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।
मन्त्रालयका अनुसार भेटका क्रममा दुई देशबीचको बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने र ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा कुराकानी भएको थियो ।
त्यस्तै, आपसी हित र चासोका विषयसहित नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका सिलसिलामा विदेश सचिव मिश्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार बिहान काठमाडौं आएका हुन् ।