काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चार जनाविरुद्ध संसदीय सुनुवाइ समितिमा नौवटा उजुरी परेका छन्।
सोमबार बसेको समितिको बैठकमा सभापति बोधनारायण श्रेष्ठले हालसम्म नौवटा उजुरी प्राप्त भएको जानकारी दिएका हुन्। उनका अनुसार उजुरी संकलनको प्रक्रिया जारी रहेकाले कात्तिक १९ गतेसम्म उजुरी दिन सकिनेछ।
प्राप्त उजुरीमध्ये दुई जना प्रस्तावित न्यायाधीशविरुद्ध तीन–तीनवटा, एक जनाविरुद्ध दुईवटा र अर्का एक जनाविरुद्ध एउटा उजुरी परेको श्रेष्ठले बताए।
उनका अनुसार गोप्य नरहेका उजुरीको अध्ययन प्रक्रिया अघि बढाइनेछ भने गोप्य रूपमा प्राप्त उजुरी आगामी बैठकमा खोलेर अध्ययन गरिनेछ। उजुरी अध्ययनपछि प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।
गत असोज २० गते बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो। सिफारिस हुनेमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द तथा उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन्।