काठमाडौं। प्रतिपक्षी दलहरूले न्यायालयमा बिचौलियाको प्रभाव, प्रहरीसँग सम्बन्धित विषयमा प्रधानमन्त्रीको नाम जोडिएर आएका प्रसङ्गलगायत विषयमा छलफल गर्न यथाशीघ्र संसद् बैठक आह्वान गर्न सरकारसँग माग गरेका छन्।
सोमबार नेपाली कांग्रेसको आह्वानमा सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकले संसद् बैठक तत्काल बोलाउन माग गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बताए।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै आङ्देम्बेले न्यायालयमा बिचौलियाको प्रभाव र सर्वोच्च अदालतका न्यायाधीशसँगको साँठगाँठ तथा प्रहरीसँग सम्बन्धित विषयमा प्रधानमन्त्रीको नाम जोडिएर आएका प्रसङ्ग गम्भीर रहेको बताए। यस्ता विषयमा सतही चर्चा गर्नुभन्दा संसद्मै छलफल गरेर समाधान खोज्नुपर्ने उनको भनाइ छ।
सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोज्दा संसद्को औचित्य र गरिमामाथि प्रश्न उठ्न थालेको उनले बताए। सबै विषय अध्यादेशबाटै अघि बढाउने हो भने संसद्को अपरिहार्यतामाथि नै प्रश्न उठ्ने भन्दै उनले संसद् बैठक छिटो बोलाउनुपर्नेमा जोड दिए।
त्यस्तै, रसुवाको भोटेकोशी बाढीबाट विस्थापित नागरिकले राज्यबाट पाउनुपर्ने राहत र घरभाडासमेत नपाएको गुनासो आएकाले त्यसबारे पनि संसद्मा छलफल आवश्यक रहेको उनले बताए।
आङ्देम्बेले सुनसरी र कप्तानगञ्जलगायतका स्थानमा भएका घटनाबारे गठित समितिको अवस्था र प्रतिवेदन सार्वजनिक गर्नसमेत माग गरे। बैठकले सरकार एकलौटी ढङ्गले अघि बढ्न खोजेको निष्कर्ष निकालेको पनि उनले जानकारी दिए।