झापा । झापामा हालसम्म चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय झापाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रगति विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।
जिल्लामा जिल्ला प्रशासन कार्यालय भद्रपुर तथा इलाका प्रशासन कार्यालय गौरीगन्ज र दमकबाट राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र कार्ड वितरण हुँदै आएको छ ।
जिल्लामा हालसम्म राष्ट्रिय परिचयपत्रका लागि आठ लाख ६४ हजार ८१६ जनाको विवरण दर्ता भएको छ । तीमध्ये पाँच लाख ५३ हजार ५४८ जनाको कार्ड केन्द्रबाट प्राप्त भइसकेको सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीले जानकारी दिए ।
केन्द्रबाट प्राप्त कार्डमध्ये एक लाख एक हजार ८४४ वटा वितरणका लागि तयार अवस्थामा छन् । मृत्यु भएका, वैदेशिक रोजगारीमा गएका तथा विभिन्न कामले जिल्ला बाहिर रहेका व्यक्तिका कार्ड वितरण हुन नसकेको रायमाझीले बताए ।
उनका अनुसार राष्ट्रिय परिचयपत्रको कार्ड लिन सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने व्यवस्था छ ।
चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म जिल्ला प्रशासन कार्यालयले २४ हजार ६४६ जनाको राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरेको छ । सोही अवधिमा तीन हजार ७७८ जनालाई नयाँ नागरिकता र चार हजार ४४८ जनालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको छ ।
यस्तै, तीन हजार १३९ जनालाई राहदानी वितरण गरिएको छ भने पाँच हजार ७३६ जनाका लागि राहदानी सिफारिस गरिएको त्रैमासिक प्रगति प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार उक्त अवधिमा वंशजका आधारमा तीन हजार ५३५, वैवाहिक अङ्गीकृततर्फ १८०, अङ्गीकृततर्फ ४६, गैरआवासीयतर्फ १६ र जन्मसिद्ध आधारमा एक जनालाई नागरिकता प्रदान गरिएको छ ।
सर्वसाधारणलाई छिटो, छरितो र सहज रूपमा सेवा उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयले फेसलेस सेवा तथा शून्य बाँकी आवेदन अभियान सञ्चालन गरिरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।
राहदानी र राष्ट्रिय परिचयपत्रका लागि अग्रिम आवेदन दिएर लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीलाई बिहानैदेखि तथा सार्वजनिक बिदाका दिनसमेत सेवा प्रदान गरी पुराना आवेदन फर्छ्योट गरिएको उनले जानकारी दिए ।
हाल सेवाग्राहीले आवेदन दिएको दिनमै बायोमेट्रिक विवरण सङ्कलन गराउन सक्ने व्यवस्था मिलाइएको पोखरेलले बताए ।
सेवाप्रवाहलाई थप सहज बनाउन प्रशासन कार्यालयमा सेवाग्राहीमैत्री भौतिक संरचना निर्माण गर्नुका साथै सहायता कक्षलाई समेत व्यवस्थित बनाइएको छ ।