तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा व्यावसायिक सयपत्री फूलखेती सुरु गरेका छन् । तिहारमा स्थानीय फूलको माग पूरा गर्ने र आम्दानीको स्रोत बढाउने उद्देश्यले उनीहरूले पाँच रोपनी जग्गामा सयपत्री खेती गरेका हुन् ।
किसानहरूले पहिलोपटक सुरु गरेको उक्त खेतीमा आठ हजार सयपत्रीका बिरुवा रोपिएका छन् । तिहारलाई लक्षित गरी लगाइएको फूल बजारमा बिक्री गर्ने तयारीसहित किसानहरू अहिले खेतीको रेखदेख तथा स्याहारमा जुटेका छन् ।
फूलखेतीमा संलग्न स्थानीय किसान मैना राना आलेले तिहारमा स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताइन् । चाडपर्वका समयमा सयपत्री फूलको माग बढ्ने भएकाले स्थानीयस्तरमै उत्पादन गरेर बजारको माग पूरा गर्न सकिने उनको विश्वास छ ।
उनले तिहारमा पूजाआजा तथा घर सजावटका लागि आवश्यक फूल स्थानीय किसानबाटै खरिद गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन् । स्थानीय उत्पादनको प्रयोग बढाउन सके किसानले राम्रो आम्दानी गर्न सक्ने र बाहिरबाट फूल आयात गर्नुपर्ने बाध्यतासमेत कम हुने उनको भनाइ छ ।
त्यस्तै, अर्की किसान सीता श्रेष्ठले आँबुखैरेनी गाउँपालिकाले फूलखेतीका लागि प्रोत्साहन गरेपछि आफूहरू यस व्यवसायमा आकर्षित भएको बताइन् । तिहार नजिकिँदै गर्दा उत्पादनले बजार पाउनेमा आफूहरू आशावादी रहेको उनले उल्लेख गरिन् ।
गाउँपालिकाले स्थानीय किसानलाई व्यावसायिक फूलखेतीतर्फ आकर्षित गर्न विभिन्न माध्यमबाट प्रोत्साहन गर्दै आएको छ । गाउँपालिकाको कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार सयपत्री फूलको बजारमा राम्रो सम्भावना देखिएकाले किसानहरू यस खेतीतर्फ आकर्षित भएका हुन् ।
तिहारका बेला सयपत्री फूलको माग उच्च हुने भएकाले स्थानीयस्तरमै उत्पादन विस्तार गर्न सके किसानको आम्दानी बढाउन सकिने केसीले बताए । पाँच रोपनी क्षेत्रफलमा आठ हजार बिरुवा रोपेर सुरु गरिएको खेती सफल भए आगामी दिनमा थप क्षेत्रफलमा फूलखेती विस्तार गर्न सहयोग पुग्ने उनको भनाइ छ ।