म्याग्दी । यस वर्षको मनसुनजन्य विपद्बाट सबैभन्दा बढी प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा परामर्शदाता संस्था ‘पिपुल इन निड’का भूगर्भविद्ले पाउद्धारसहित अन्नपूर्ण गाउँपालिका–५ र ६ का विभिन्न बस्तीमा पहिरोको अध्ययन गरेका हुन् ।
नेपाने, गिवाङ, झारवाङ, किन्दु, धस्केखोरे, सोभित्ता, भुवानथान, बिरौटा, शिख र हल्लेखर्कमा स्थलगत निरीक्षण, स्थानीयवासीसँग छलफल, माटो तथा चट्टानका नमुना सङ्कलन र ड्रोनको सहायताबाट अध्ययन गरिएको भूगर्भविद् लेखप्रसाद भट्टले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाको माग तथा जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय र सिफारिसका आधारमा प्राधिकरणले पाउद्धारको भौगर्भिक अवस्था अध्ययन गर्न टोली खटाएको हो । विशेषगरी पाउद्धारमा पुनः बस्ती बसाउन उपयुक्त हुने वा नहुने विषयमा सुझाव दिन अध्ययन केन्द्रित गरिएको उनले बताए ।
गाउँपालिका उपाध्यक्ष दिवा तिलिजा पुन, वडा नं. ५ का अध्यक्ष राजेश तिलिजा पुन, प्राविधिक शाखा प्रमुख र भूगर्भविद्सहितको टोलीले १०० मिटरभन्दा बढी लम्बाइका करिब ३० वटा पहिरोको अध्ययन गरेको छ ।
भूगर्भविद् भट्टका अनुसार पाउद्धार गाउँमाथिको पहिरो, जमिनमा देखिएका ठूला चिरा र ढल्किएका रूखका कारण थप जोखिम देखिएको छ । प्रारम्भिक अध्ययनले १५ घर उच्च जोखिममा रहेको देखाएको उनले बताए ।
गाउँमाथि र आसपासका अन्य पहिरोले बस्तीमा पार्न सक्ने जोखिमबारे सुझावसहितको विस्तृत प्रतिवेदन गाउँपालिकालाई बुझाइने उनले जानकारी दिए ।
अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा गत असोज ११ गते पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको थियो भने २८ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए । दुई सयभन्दा बढी घर रहेको पाउद्धार गाउँ चारैतिरबाट पहिरोले घेरिएको छ । गाउँपालिकाका अन्य बस्तीसमेत पहिरोको जोखिममा छन् ।
पहिरोका कारण पाउद्धार जोड्ने सडक अझै सञ्चालनमा आउन सकेको छैन । स्थानीयवासीले श्रमदान गरेर पैदलमार्ग खुलाएका छन् भने अस्थायी रूपमा विद्युत् आपूर्ति व्यवस्था मिलाइएको छ । खानेपानी मर्मतका लागि पनि श्रमदान अभियान सञ्चालन भइरहेको छ ।
असोज ११ गते हेलिकप्टरमार्फत उद्धार गरी अन्नपूर्ण गाउँपालिका–६ घारस्थित आश्रयस्थलमा पुर्याइएका पाउद्धारका ११५ जना स्थानीय पछिल्लो समय आफन्त तथा छिमेकीका खाली घर र सुरक्षित स्थानमा टहरा बनाएर बस्न थालेका छन् । त्यस्तै, शिखको आश्रयस्थलमा रहेका ३५ घरपरिवारमध्ये अधिकांश आफन्तको घरमा सरेका छन् ।
गाउँपालिकाका उपाध्यक्ष पुनले भूगर्भविद्ले दिने सुझाव र अध्ययन प्रतिवेदनका आधारमा पुनर्निर्माणको काम अघि बढाइने बताए । गाउँपालिकाका अन्य स्थानमा रहेका पहिरोको समेत भौगर्भिक अध्ययन गराउन पहल भइरहेको उनले जानकारी दिए ।