दसैं पर्व सकिएसँगै नेपाली क्रिकेटको सबैभन्दा ठूलो पर्व आउँदैछ- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन- ३ प्रतियोगिता । दसैंको बेला नेपाल क्रिकेट संघका पदाधिकारी भने एनपीएलको तयारीमा जुटिरहेका छन् । आईसीसीबाट मान्यता पाउन सफल भएको एनपीएल यो प्रतियोगिता भव्यतापूर्वक सम्पन्न गर्न अगाडि बढेको छ । क्रिकेट ग्राउन्डदेखि प्रविधिसम्म यसपटकको एनपीएलमा परिवर्तन ल्याइएको छ । नेपाली क्रिकेट अगाडि बढाउने क्यानसँग के योजना छ र यसपटकको एनपीएल प्रतियोगिता कसरी फरक हुन्छ ? भनेर केटीएम दैनिकका चन्दा क्षेत्रीले नेपाल क्रिकेट संघ(क्यान) का उपाध्यक्ष रोशनकुमार सिंहसँग गरेको संवाद :
नेपाल प्रिमियर लिग (एनपीएल) लाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मान्यता दिएकोमा तपाईंको प्रतिक्रिया के छ ?
आईसीसीले मान्यता दिएको विषयलाई सम्पूर्ण नेपाली र फ्यानबाट उत्साहजनक प्रतिक्रिया आएको छ । आईसीसीले मान्यता दिने बितिक्कै सम्पूर्ण क्रिकेट पदाधिकारी जिल्ला र प्रदेशका साथीहरू सबैको तर्फबाट धन्यवाद दिन चाहन्छौं । यो हाम्रालागि ठूलो जित हो । आईसीसीबाट एनपीएल सुरु हुन ८-१० दिन बाँकी रहँदा मान्यता पाउँछ भनेर पहिलेदेखि भन्दै आएको थिए, १० औँ दिनमा पाइयो । यस विषयमा आईसीसीसँग नजिकबाट संवाद भइरहेको थियो ।
एनपीएल सिजन- ३ सुरु हुन केही दिनमात्र बाँकी छ । क्रिकेट ग्राउन्डमा तीव्र काम भइरहेको छ । तपाईंले क्यानको उपाध्यक्षको रूपमा हेर्दा यहाँ भइरहेको काम र परिवर्तनमा कति सन्तुष्ट हुनुहुन्छ ?
बोर्डले दिएको जिम्मेवारी अनुसार हामीले राम्रो र सक्दो राम्रो काम गरिरहेका छौं । अहिले काम जारी रहेको छ । सबैभन्दा पहिले खेलाडीलाई चाहिने ग्राउन्ड हो । पहिलो र दोस्रो सिजन हुँदै तेस्रो सिजनमा आउँदाखेरि आईसीसीको मान्यतादेखि लिएर दर्शकलाई हिँड्ने बाटो, पार्किङ, शौचालय, खानेपानी, टीमका मालिक, स्पोन्सर, मिडिया, खेलाडीका परिवारलगायत विभिन्न विषय जोडिएका छन् । यसपालि पहिलो र दोस्रो सिजनमा हुन नसकेका कार्य गरेका छौं । जुन यसपालिको दर्शक ग्राउन्डभित्र आउँदा अनौठो अनुभव गर्नुहुनेछ, फरक पाउनुहुनेछ । हरेक कुरालाई हामीले नजिकबाट काम गर्दैछौं । एनपीएल विश्वव्यापी होस् भनेर काम भइरहेका छन् । आईसीसीको प्रतिनिधि पनि एनपीएलमा आउने भएकाले राम्रो काम भइरहेको छ ।
अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय बन्दै गइरहेको एनपीएललाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने योजना के छ ?
भारतको बीसीसीआईसँग पनि कुरा भएको थियो । बीआईसीसीसँग बोर्डका साथीहरूले पहिले नै कुरा अगाडि बढाउनुभएको थियो । पछि निकै छलफलपछि भारतको आईपीएलको जस्तै सञ्चालन समिति गठन गरियो । भोलिको दिन जो आएपनि यसले के हुन्छ भने बोर्डबाट सञ्चालन नभएर अलग समिति बनाउनुपर्छ, जसले वर्षभरी एनपीएलको काम गरिराखोस् । डोमेस्टिक क्रिकेटलाई ब्रेक नगरोस् ।
क्रिकेट विकासका लागि डोमेस्टिक क्रिकेट नै सबैभन्दा ठूलो मेरुदण्ड हो । अहिले एनपीएलले गर्दा सबैको फोकस त्यता नै हुन्छ र डोमेस्टिक क्रिकेटप्रति चासो कम देखिएको छ । हामी पनि पदाधिकारी हौं । २ वर्षदेखि प्रधानमन्त्री कप, महिला प्रतियोगिता हुन सकेन । हामीले अन्तरविद्यालय टुर्नामेन्ट गरायौं, त्यसको हामीले सबै जिल्लामा गरायौं तर प्रदेशको टुर्नामेन्ट आयोजना गराउन सकेका छैनौं । अन्डर-१९ जुन तरिकाबाट जानुपर्ने, त्यो अल्झिएको छ । यी सबै कुराहरू भनेको डोमेस्टिक क्रिकेट अगाडि बढाउनका लागि एनपीएलसँग कहिले पनि जोड्नु हुँदैन ।
एनपीएल वर्षको ठूलो चाडवाड हो । हाम्रो ठूलो उत्सव हो त्यसमा एउटा सिस्टमले काम गर्नुपर्छ । डोमेस्टिक क्रिकेट व्यवस्थापन कार्य गर्नकालागि छुट्टै जानुपर्छ । राष्ट्रिय प्रतियोगिताहरू नीतिगत बनाउनलाई एउटा तरिकाले जानुपर्छ र आईसीसीको टुर्नामेन्ट, सीडब्ल्यूसी भोलि जुन सिस्टममा हामी हिँडेका छौं, कठिन अवस्थामा पनि छौं । हिजो पनि अन्तिम बलमा ओडीआई बचेको, अस्ति १२ मा ११ म्याच जितेको हो । अहिले पनि अन्तिम खेलमा जितेर ओडीआई बचाउनुपर्नेछ । यी विषयले गर्दाखेरि एनपीएलले नै आर्थिक रूपले राम्रो गर्दै गयो भने जिल्ला र प्रदेशमा एकेडेमी बनाउने । यो पैसाबाट जुन कमाइ हुन्छ, त्यो जिल्लालाई दामासाही रूपले बाँड्नुपर्छ । प्रदेशलाई दामासाही रूपले बाँड्नुपर्छ । जिल्लामा एकेडेमी हुनुपर्छ । जिल्लामा कोच राख्नुपर्छ । प्रदेशसम्म होस्टेलसहितको एकेडेमी स्थापना गर्नुपर्छ ।
नेपाली क्रिकेट यतिले मात्र हुँदैन अझ गएर भिन्न तरिकाले सोच्नुपर्छ । जबसम्म त्यो सोच अगाडि बढाउन सक्दैनौं, भोलि समस्या हुनसक्छ । केन्या पनि एक समयमा विश्वकपको सेमीफाइनल पुगेको थियो, आज कहाँ छ ? हामीले पनि एनपीएल मात्र होइन ग्रासरुट, जिल्ला, प्रदेशको क्रिकेट एकेडेमी मोडालिटीमा जानुपर्छ । सबैको जबसम्म टुक्र्याएर काम गरिँदैन तबसम्म नेपाली क्रिकेट यतिमा मात्र सीमित रहन सक्दैन ।
हरेक वर्ष एनपीएल आउने बेलामा व्यवस्थापन पूर्वाधार व्यवस्थापनको कुरा निकै चर्चामा आउँछ । आइसीसीले मान्यता पनि दिइसक्यो ।
यससँगै स्थायी र अन्तर्राष्ट्रिय मापदण्डअनुरुप बनाउन क्यानको दीर्घकालीन योजना के हो ?
यो सबै बोर्डले गरिरहेको छ । काउन्सिलले पनि गरिरहेको छ । अध्यक्षज्यूले पनि नजिकबाट हेरिरहनुभएको छ । म त्यो समितिको संयोजक छु, यसमा भएका राम्रा पक्ष, नराम्रा पक्षलाई हामीले हेरेर लानेछौं । यी सबै कुरा जोडिएको छ ।
अहिले टीयू क्रिकेट ग्राउन्डमा एनपीएल सीजन- २ भन्दा के-के परिवर्तन आयो ?
दर्शकलाई हिँड्दा विगतमा बाटो थिएन, धुलो उड्थ्यो, शौचालय अव्यवस्थित थियो । अहिले यी कुरा व्यवस्थित भए । मिडियाकर्मीलाई पार्किङ थिएन, मिडयाकर्मी कहाँ बस्ने भन्ने यकीन थिएन । अहिले यो व्यवस्थापन भइसक्यो । पार्किङको पनि व्यवस्थापन गरिसक्यौं । साइड स्क्रीन विगतभन्दा ठूलो बनाएका छौं । जुन ठाउँ खाली थियो, त्यसमा प्याराफिट बनाइरहेका छौं । ड्रेसिङ रुम पहिलेभन्दा सभ्य बनाएका छौं । डाइनिङ हल पहिले एउटा थियो, अहिले दुई वटा भयो ।
प्रिमियर एरियामा कोही पनि प्रवेश नगर्ने वेभ बनाएका छौं । सँगसँगै आईसीसीबाट आएका प्रतिनिधिलाई डाइनिङ हल छुट्टै हल तयार गर्दैछौं । स्पोन्सरहरूलाई बस्ने सिट व्यवस्थापन पहिलेभन्दा फरक गरेको छ । टिमका मालिकहरूलाई पनि हामीले राम्रो व्यवस्थापन गरेका छौं । भएका कमेन्ट्री बक्स पनि फरक तरिकाले बनाएका छौं । हाम्रो ह्वील चेयर क्रिकेट पनि छ, उाहँहरूलाई पनि विगतमा हिलोमा बस्ने पीडा हुन्थ्यो । धेरै पटक उहाँहरूले भन्नुभएको थियो । अहिले म ग्राउन्ड व्यवस्थापन समिति संयोजक हुँदाखेरि कमसे कम अगाडि १०० जनासम्म अट्ने गरी व्यवस्थापन गरेका छौं । समग्रमा धेरै परिवर्तन पाउनुहुनेछ । धेरै परिवर्तन गरिएको छ ।
एनपीएल राम्रो हुँदाहुँदै पनि आलोचना हुने गरेको छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ ?
आलोचना जति हुन्छ काम गर्न त्यति मजा आउँछ । किनकी हामीलाई जबसम्म कसैले केही भन्दैन तबसम्म नेपाली हौं पुलपुलिन्छौं । त्यसले गर्दा आलोचनालाई सहजीकरणका रूपमा हेर्नुपर्छ । आज म्याच खेल्नुछ भने २ घण्टाअघि फ्यानहरूले १ देखि ११ जना खेलाडी यो हुनुपर्छ भन्छन् । त्यसले नजीकबाट माया गरेको छ । त्यसलाई आलोचनाका रूपमा लिनु हुँदैन । फ्यानहरूले माया गर्नु भनेको नजिकबाट क्रिकेट हेर्नु भएको छ ।
दसैं लगत्तै एनपीएल हुँदैछ । यसपालि विजयादशमीको शुभकामना कस्तो हुन्छ ?
हिन्दुहरूको महान चाड बडादसैंको देश-विदेशमा रहने दाजुभाइ-दिदीबहिनी, खेलाडी, जिल्लाका र प्रदेशका साथीहरू, मिडियाका साथीहरू र क्रिकेटलाई माया गर्ने सम्पूर्णमा बडादसैंको र दिपावली, छठ पर्वको शुभकामना ।
एनपीएल हेर्न यसरी नै आइदिनुहोला । पहिलो र दोस्रो सिजन जुन किसिमले तपाईंहरूको माया, साथ र सहयोग पाएका छौं । एनपीएल नेपाली क्रिकेटको ठूलो पर्व हो । एनपीएललाई पर्वको रूपमा लिई आइदिनुहुन सम्पूर्ण दर्शकमा आग्रह गर्न चाहन्छौं ।