सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले दसैंको अवसरमा रास्वपाका नेता र कार्यकर्ताले उपहार लिने र दिने काम नगर्ने बताएका छन् ।
पार्टी स्थापना कालदेखि नै रास्वपाले उपहार दिने र लिने काम नगरेको बताएका हुन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो स्थापनाकालदेखि नै शुभकामना आदान प्रदान गर्ने क्रममा उपहार, नगद, जिन्सी वा कुनै पनि प्रकारको सुविधा लिने–दिने कार्यलाई पूर्णतः निरुत्साहित गर्दै आएको छ । सधैँ झैँ हामी यही मान्यतामा अडिग छौँ र सम्बन्धित सबैमा यसको अनुसरणका लागि हार्दिक अपिल गर्दछौँ ।’
दसैंको आशिष, तिहारको भाइटीका र छठको अगाध आस्थाले बोक्ने साझा सन्देश निःस्वार्थ प्रेम र सद्भाव हुनुपर्ने महामन्त्री आचार्यको भनाइ छ । चाडपर्वमा हुने भेटघाट र खुसी साटासाटको सुन्दरता पनि यही निःस्वार्थपनमा निहित रहेको उनले लेखेका छन् । ‘चाडपर्वमा हामी जसरी परिवार र आफन्तबाट केवल आशीर्वादको अपेक्षा गर्छौँ, त्यसरी नै राजनीतिमा पनि हाम्रा लागि नागरिक र अन्य सबैको सद्भाव, आशीर्वाद र विश्वास नै सबैभन्दा ठूलो उपहार हो। यही भावनासहित मर्यादित, सुसंस्कृत र भरोसायोग्य राजनीतिक संस्कार निर्माणमा सबैको साथ र सहयोगको अपेक्षा गर्दै, पुनः एकपटक बडादशैँ, तिहार तथा छठ पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछौँ,’ आचार्यले लेखेका छन् ।