काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतगणना शुक्रबार बिहान सम्पन्न भएको छ।
मधेश र बागमती प्रदेशबाट निर्वाचित हुने पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको अन्तिम परिणाम सार्वजनिक भएसँगै गत असोज २३ गते रातिदेखि सुरु भएको मतगणना सकिएको हो।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, सहिद परिवार तथा द्वन्द्वपीडितको तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको मतगणना बिहीबार राति नै सम्पन्न भएको थियो। त्यस्तै, सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य चयन हुने खस आर्य र थारू समूहको मतगणना पनि अबेर राति सकिएको उनले जानकारी दिए।
गत असोज २३ गते मतदान सम्पन्न भएपछि सोही राति सभापति पदको मतगणना सुरु गरिएको थियो। राष्ट्रिय सभागृहमा गरिएको मतगणनाको परिणाम असोज २४ गते बिहान सार्वजनिक भएको थियो। अन्य पदको मतगणना भने असोज २४ गते रातिदेखि पार्टीको केन्द्रीय कार्यालय बीपी नगर, सानेपामा गरिएको थियो।
कटुवालका अनुसार कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो। यसपटक सात हजार ३९२ मतदाताको मतगणना एक सातामै सम्पन्न भएको हो।
मतगणना सुरु भएको दिनदेखि नै दिनरात गरी करिब २५ समूह बनाएर गणना गरिएको उनले बताए। मतदान तथा मतगणनाका क्रममा कुनै विवाद नभएको र निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको उनको भनाइ छ।
यसपटक करिब एक लाख ६२ हजार मतपत्र गणना गर्नुपरेको थियो। कुल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए। प्रत्येक मतदाताले २३ वटा मतपत्रमार्फत मतदान गर्नुपर्ने व्यवस्था गरिएको थियो।
अघिल्लो महाधिवेशनको तुलनामा यसपटक दोब्बरभन्दा बढी गतिमा मतगणना सम्पन्न भएको निर्वाचन समितिको दाबी छ।
निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम दसैँलगत्तै गर्ने तयारी गरिएको छ। त्यसपछि नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बस्ने नेताहरूले बताएका छन्।
पहिलो बैठकमै आगामी स्थानीय तहको निर्वाचनका लागि आवश्यक रणनीति तथा तयारीको खाका बनाउने विषयमा समेत छलफल हुने तयारी रहेको बताइएको छ।