काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित उनका निकटस्थ व्यक्ति तथा केही नातेदारका घरमा छापा मारेको छ।
विभागको टोलीले जबरासहित नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा छापा मारेको जनाइएको छ। स्रोतका अनुसार जबराका केही नातेदारको घरमा समेत विभागको टोली पुगेको छ।
जबराका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा पनि छापा मारिएको स्रोतले जनाएको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा विभिन्न स्थानमा एकैपटक छापा मारिएको बताइएको छ। छापा मार्ने क्रममा महत्त्वपूर्ण कागजात तथा अन्य सामग्री बरामद गरिएको स्रोतको दाबी छ।
यसअघि केही दिनअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्वप्रधानन्यायाधीश जबरालाई उनकै निवासबाट मध्यराति पक्राउ गरेको थियो। करिब १२ घण्टा नियन्त्रणमा लिएपछि उनलाई छाडिएको थियो।
जबरामाथि विभिन्न विषयमा अनुसन्धान अघि बढिरहेका बेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीसँग सम्बन्धित व्यक्ति तथा नातेदारका घरमा छापा मारेको हो।