काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलाई लक्षित गर्दै ३ हजार ५०६ प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना सार्वजनिक गरेको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले चाडपर्वका क्रममा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना तयार पारिएको जानकारी दिए।
उनका अनुसार परिचालन हुने प्रहरीमध्ये अधिकांश पोसाकमा रहनेछन् भने ७० जना सादा पोसाकमा खटिनेछन्। प्रहरीलाई विभिन्न ९८ वटा सेक्टरमा विभाजन गरी जिम्मेवारी तोकिएको छ। त्यस्तै, तालुक कार्यालयबाट थप १९० जना प्रहरी जनशक्ति परिचालन गरिनेछ।
चाडपर्वका समयमा सर्वसाधारणको सहजताका लागि १४ स्थानमा सहायता कक्ष स्थापना गर्ने तयारी गरिएको एसपी थापाले बताए।
सुरक्षा निगरानी तथा गस्तीलाई प्रभावकारी बनाउन १६६ वटा मोबाइल टोली तथा भ्यान परिचालन गरिने प्रहरीले जनाएको छ। काठमाडौंका विभिन्न स्थानमा जडान गरिएका १ हजार २४२ वटा सीसीटीभीमार्फत समेत सुरक्षा निगरानी गरिनेछ।
प्रहरीले चाडपर्वका समयमा हत्या, बलात्कार, मानव बेचबिखन, अपहरण, धम्की, पाकेटमारी, चोरी, जुवा, लुटपाट, वैदेशिक मुद्रा ठगी तथा पेय पदार्थमा नशालु पदार्थ मिसाउनेजस्ता गतिविधिलाई सम्भावित सुरक्षा चुनौतीका रूपमा पहिचान गरेको छ।
यसैगरी धार्मिक तथा सांस्कृतिक स्थल, मठमन्दिर, खाद्यान्न तथा खसी बजार, सार्वजनिक भिडभाड हुने क्षेत्र, बसपार्क, सवारी व्यवस्थापन हुने स्थान, सरकारी तथा निजी कार्यालय, बैंक तथा वित्तीय संस्था, सपिङ मल तथा गरगहना खरिद–बिक्री हुने क्षेत्रलाई सुरक्षा प्राथमिकतामा राखिएको छ।
प्रहरीका अनुसार जोखिम र आवश्यकताका आधारमा ती क्षेत्रमा प्रहरी परिचालन गरी चाडपर्वका समयमा सुरक्षा व्यवस्था थप मजबुत बनाइनेछ।