काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदैछ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोअनुसार आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्नेछ। प्रतिपदा तिथिको श्राद्धमा पिण्डदान भने अपराह्नपछि गर्नुपर्ने समितिका पूर्वसदस्य तथा धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म पर्ने १६ तिथिमा दिवंगत पितृको सम्झनामा तर्पण, सिदादान तथा पिण्डदान गरिने भएकाले यस अवधिलाई ‘सोह्र श्राद्ध’ भनिन्छ। यसलाई अपर वा प्रेत पक्षका नामले समेत चिनिन्छ।
वैदिक सनातन हिन्दू परम्पराअनुसार चाडपर्व, यज्ञयागादि तथा ठूला धार्मिक कार्य गर्नुअघि पितृलाई श्रद्धा र भक्तिपूर्वक सम्झने परम्परा छ। पितृ पक्षमा पितृले आफ्ना सन्तानबाट गरिने श्रद्धा र कर्मको अपेक्षा गर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।
सोह्र श्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनुका साथै पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ। यस अवधिमा श्राद्ध नगर्नु शास्त्रसम्मत नमानिने धर्मशास्त्रविद् तथा समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछन्।
उनका अनुसार सोह्र श्राद्ध अपराह्न कालमा गर्नुपर्ने शास्त्रीय व्यवस्था छ। जाताशौच, मृताशौच तथा पत्नी रजस्वला भएको अवस्थाबाहेक सोह्र श्राद्ध नछोड्नुपर्ने उनको भनाइ छ।
रोकिएमा वैकल्पिक व्यवस्था
कारणवश निर्धारित तिथिमा श्राद्ध गर्न नसकिए शास्त्रमा विभिन्न वैकल्पिक व्यवस्था गरिएको धर्मशास्त्रविद्हरू बताउँछन्।
सामान्यतया श्राद्धकर्ताले आफ्ना पितृको निधन भएको तिथिमा श्राद्ध गर्नुपर्ने विधान छ। तर आपत्कालीन अवस्थामा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म श्राद्ध गर्न सकिने शास्त्रीय व्यवस्था रहेको प्रा. डा. भट्टराईले बताए।
त्यस अवधिमा पनि गर्न नसकिए कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन श्राद्ध गर्न सकिने व्यवस्था छ। कार्तिक कृष्ण औँसीमा समेत सम्भव नभए वृश्चिक सङ्क्रान्तिसम्म श्राद्ध गर्न सकिने ‘धर्मसिन्धु’ लगायतका शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ।
आश्विन शुक्ल पञ्चमीपछि पर्ने अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र तथा व्यतीपात योग परेको दिन जुनसुकै तिथि परे पनि रोकिएको श्राद्ध गर्न सकिने विकल्पसमेत ‘निर्णयसिन्धु’ र ‘धर्मसिन्धु’ लगायतका ग्रन्थमा रहेको भट्टराईले जानकारी दिए।
यी विकल्पबाट पनि श्राद्ध गर्न नसकिए सक्षम व्यक्तिले स्वयं वा नसक्नेले ब्राह्मणमार्फत दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय व्यवस्था रहेको उनले बताए। यस्तो जप विधिपूर्वक १० महिनासम्म गर्नुपर्ने र यसबाट पनि पितृ तृप्त हुने धार्मिक विश्वास रहेको छ।
धर्मशास्त्रविद्हरूका अनुसार सोह्र श्राद्ध अपराह्नमै गर्नुपर्ने भए पनि कतिपय पुरोहितले आफ्नो सुविधाअनुसार बिहानै श्राद्ध गर्न सुझाव दिने गरेको पाइन्छ। यस्तो अभ्यास भने शास्त्रसम्मत नभएको उनीहरूको भनाइ छ।
पितृ पक्ष समाप्त भएपछि दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ। बडादसैँजस्ता ठूला पर्व मनाउनुअघि पितृको तृप्तिका लागि सोह्र श्राद्ध गर्ने वैदिक सनातनी परम्परा रहिआएको छ।
यस वर्ष जेठ महिनामा अधिकमास परेकाले सोह्र श्राद्धसँगै बडादसैँ पर्वसमेत अघिल्ला वर्षको तुलनामा केही ढिलो परेको हो।