नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमाथिको मोटरेबल पुलको नवलपुरतर्फको पहुँचमार्ग (एप्रोच रोड) बाढीले बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार पहुँचमार्ग बगाएपछि बौदीकाली गाउँपालिका–२ डेढगाउँ र तनहुँको घिरिङ गाउँपालिका जोड्ने गण्डकी प्रदेशमार्गको सम्पर्क विच्छेद भएको हो।
अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले पुलको नवलपुरतर्फको पहुँचमार्गमा कटान गरेको हो। बाढीको कटानका कारण पुलको जगसमेत जोखिममा परेको प्रहरीले जनाएको छ।
पहुँचमार्ग बगाएपछि उक्त सडकमा सवारीसाधनसँगै पैदलयात्रुको आवागमनसमेत पूर्ण रूपमा रोकिएको छ।
डेढगाउँ हुँदै तनहुँको भिमाद र पोखरा जोड्ने गण्डकी प्रदेशमार्ग नवलपुर, तनहुँ, स्याङ्जा, पाल्पालगायत जिल्लाका बासिन्दाले दैनिक आवतजावतका लागि प्रयोग गर्दै आएका छन्।
यो सडक नवलपुरलाई प्रदेश राजधानी पोखरासँग जोड्ने छोटो मार्गका रूपमा समेत प्रयोग हुँदै आएको छ। पुलको पहुँचमार्ग बाढीले बगाएपछि यस क्षेत्रको यातायात प्रभावित भएको छ।