काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन र मूल्यवृद्धिको समस्या समाधान गर्न सरकारले प्राविधिक तथा वैज्ञानिक विश्लेषणका विधि प्रयोग गरिरहेको बताएका छन्।
बिहीबार राष्ट्रिय सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री साहले इन्धन आपूर्ति प्रणाली सुधारका लागि ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोगमा ल्याइएको बताए।
सांसद रुक्मिणी कोइरालाले पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि र खाना पकाउने ग्यासको अभावले उपभोक्ता समस्यामा परेको भन्दै सरकारको तत्कालीन तथा दीर्घकालीन योजनाबारे प्रश्न गरेकी थिइन्।
जवाफमा मन्त्री साहले इन्धन अभावलाई एउटै कारणको परिणाम नभई आपूर्ति, पूर्वाधार, नीतिगत व्यवस्था र अन्तर्राष्ट्रिय प्रभावको संयुक्त असरका रूपमा विश्लेषण गरिएको बताए। उनका अनुसार ‘फिसबोन डायग्राम’बाट गरिएको विश्लेषणले आयातमा निर्भरता, भण्डारणको समस्या, डिलर वितरण प्रणालीमा असमानता र अन्तरनिकाय समन्वयको कमीलाई प्रमुख चुनौतीका रूपमा पहिचान गरेको छ।
‘ढुवानीदेखि भान्सासम्मको सम्पूर्ण आपूर्ति शृंखलालाई वैज्ञानिक बनाउने काम गरिरहेका छौं,’ मन्त्री साहले भने।
उनले हाल पेट्रोल, डिजेल र हवाई इन्धनको अभाव नरहेको दाबी गर्दै खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन अर्थ, गृह र परराष्ट्र मन्त्रालयसँग समन्वय गरी कूटनीतिक पहल थालिएको जानकारी दिए।
मूल्य स्थिरीकरण कोषको प्रभावकारी परिचालन, अनावश्यक प्रशासनिक खर्च कटौती तथा नेपाल आयल निगमको लागत संरचना पारदर्शी बनाएर उपभोक्तालाई राहत दिने सरकारको योजना रहेको उनले बताए।