काठमाडौं । रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीले ३३८ वटा ट्रक तथा कन्टेनर बगाएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । बाढीमा परी ती सवारीसाधनसँगै ४४१ जना चालक, सहचालक तथा व्यवसायीसमेत सम्पर्कविहीन भएको नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घले यातायात व्यवस्था विभागलाई उपलब्ध गराएको प्रारम्भिक विवरणअनुसार भोटेकोशी बाढीबाट मालवाहक सवारीसाधन तथा त्यसमा संलग्न व्यक्तिहरू ठूलो सङ्ख्यामा प्रभावित भएका छन् ।
बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण सङ्कलन गर्ने क्रममा यातायात व्यवस्था विभागले विभिन्न सरकारी तथा गैरसरकारी निकाय, निजी सङ्घसंस्था, सञ्चारमाध्यम, अनुसन्धानकर्ता र सरोकारवालासँग तथ्याङ्क माग गरेको थियो । विभागले असोज २ गते सूचना जारी गर्दै सात दिनभित्र क्षतिसम्बन्धी विवरण उपलब्ध गराउन आग्रह गरेको थियो ।
सोही आग्रहअनुसार नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले असोज ५ गते विभागलाई प्रारम्भिक क्षतिको विवरण पठाएको हो । महासङ्घले आफू मातहतका विभिन्न सदस्य सङ्घ, समिति तथा कम्पनीबाट विवरण सङ्कलन गरी विभागमा बुझाएको जनाएको छ ।
महासङ्घका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले भदौ १० गतेको बाढीका कारण टिमुरे क्षेत्रमा ठूलो क्षति भएको र मालवाहक सवारीसाधनसँगै तिनमा संलग्न व्यक्तिहरू सम्पर्कविहीन भएको बताए । विभागले क्षतिको यकिन विवरण सङ्कलन गर्न आग्रह गरेपछि सदस्य संस्थाबाट प्राप्त तथ्याङ्क एकीकृत गरी पठाइएको उनले जानकारी दिए ।
कुन संस्थाका कति सवारीसाधन र व्यक्ति सम्पर्कविहीन ?
महासङ्घले विभागलाई उपलब्ध गराएको विवरणअनुसार विभिन्न यातायात संस्थाका ट्रक तथा कन्टेनर र तिनमा संलग्न व्यक्तिहरू सम्पर्कविहीन भएका छन् ।
विवरणअनुसार नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालि, लोकन्थलीका २१७ वटा ट्रक तथा कन्टेनर र २५१ जना चालक, सहचालक तथा व्यवसायी सम्पर्कविहीन छन् ।
त्यस्तै, नारायणी यातायात व्यवसायी सङ्घ, हेटौँडाका ५८ वटा ट्रक तथा कन्टेनर र ७८ जना, तराई यातायात व्यवसायी सङ्घ, सिमराका २१ वटा सवारीसाधन र ३५ जना तथा ट्रक यातायात व्यवसायी सङ्घ नेपाल, बल्खुका १० वटा कन्टेनर र २० जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
यसैगरी, गण्डकी ट्रक व्यवसायी सङ्घ, पोखराका २१ वटा ट्रक तथा कन्टेनर र ३४ जना तथा पश्चिमाञ्चल यातायात व्यवसायी समिति, बुटवलका ११ वटा कन्टेनर र २२ जना सम्पर्कविहीन भएका छन् ।
थप विवरण सङ्कलन हुँदै
नेपाल ट्रक कन्टेनर व्यवसायी सङ्घका अध्यक्ष अर्जुनबहादुर सापकोटाले क्षतिको थप विवरण सङ्कलन भइरहेको जानकारी दिएका छन् । उनका अनुसार विवरण सङ्कलनको काम जारी रहेकाले बाढीमा बगेका सवारीसाधन तथा सम्पर्कविहीन व्यक्तिको सङ्ख्या अझै बढ्न सक्ने सम्भावना छ ।
महासङ्घका अध्यक्ष बानियाँले पनि हालसम्म प्राप्त विवरण प्रारम्भिक रहेको उल्लेख गर्दै थप तथ्याङ्क प्राप्त भएमा त्यसलाई समेत समेटिने बताए ।
उनले बाढीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन गर्नुका साथै प्रभावित व्यवसायी र उनीहरूका परिवारलाई राहत, क्षतिपूर्ति तथा पुनःस्थापनाका लागि सरकारले आवश्यक पहल गर्नुपर्नेमा जोड दिए ।
क्षति मूल्याङ्कन गर्न विभागद्वारा समिति गठन
यातायात व्यवस्था विभागले सार्वजनिक यातायात क्षेत्रमा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न समिति गठन गरेको जनाएको छ ।
पूर्वाधार विकास मन्त्रीको अध्यक्षतामा गत भदौ २६ गते यातायात व्यवसायी तथा सरोकारवालासहित बसेको बैठकको निर्णयअनुसार समिति गठन गरिएको हो ।
समितिलाई सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिको मूल्याङ्कन, क्षतिपूर्तिको आधार निर्धारण तथा अन्य सम्बन्धित विषयमा राय–सुझावसहित प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको विभागले जनाएको छ ।
विभागले क्षतिसम्बन्धी तथ्याङ्क उपलब्ध गराउन आग्रह गर्दा सम्बन्धित संस्थाले आफ्नो पहिचान खुलाएर विवरण पठाउनुपर्ने र सम्भव भएसम्म तथ्याङ्कको स्रोतसमेत उल्लेख गर्नुपर्ने जनाएको थियो ।
महासङ्घले विभागको सोही आग्रहअनुसार आफू मातहतका सङ्घ, समिति तथा कम्पनीबाट विवरण सङ्कलन गरी पठाएको हो । प्राप्त विवरणका आधारमा क्षतिको यकिन अवस्था पहिचान गर्ने र प्रभावित यातायात व्यवसायी तथा परिवारका लागि आवश्यक राहत तथा क्षतिपूर्तिसम्बन्धी प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ ।