काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना, पुनर्वास तथा पुनर्निर्माणका लागि जर्मनीसँग सहयोगको आग्रह गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा आज जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री रिम अलाबाली राडोभानसँग भएको द्विपक्षीय भेटवार्तामा मन्त्री खनालले यस्तो आग्रह गरेका हुन् ।
भेटमा उनले विपद्पछिको पुनर्निर्माणसँगै जलवायु उत्थानशीलता, विपद् पूर्वतयारी र क्षमता अभिवृद्धिका क्षेत्रमा थप लगानी आवश्यक रहेकोमा जोड दिए ।
बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति जर्मन सरकार र जनताले व्यक्त गरेको सहानुभूति, ऐक्यबद्धता तथा सहयोगका लागि मन्त्री खनालले आभार व्यक्त गरे ।
उनले नेपालले विपद्पछिको पुनःस्थापना, पुनर्वास र पुनर्निर्माणका काम अघि बढाइरहेको उल्लेख गर्दै ती कार्यलाई प्रभावकारी बनाउन जलवायु उत्थानशीलता, विपद् पूर्वतयारी र क्षमता अभिवृद्धिमा थप लगानी अपरिहार्य रहेको बताए ।
नेपालको विकास प्रक्रियामा जर्मनीले लामो समयदेखि पुर्याउँदै आएको महत्त्वपूर्ण सहयोगको प्रशंसा गर्दै मन्त्री खनालले जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्नु विश्व समुदायको साझा जिम्मेवारी भएको धारणा व्यक्त गरे । उनको सचिवालयका अनुसार भेटवार्तामा उनले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा विपद् व्यवस्थापनमा अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकतासमेत औँल्याएका थिए ।
सो अवसरमा जर्मनीकी मन्त्री राडोभानले नेपालमा हालै उत्पन्न विनाशकारी विपद्लाई विश्वव्यापी साझा चुनौतीका रूपमा लिनुपर्ने बताइन् । उनले नेपाललाई वित्तीय तथा मानवीय सहयोग उपलब्ध गराउन जर्मनी प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।
भेटवार्तामा नेपाल–जर्मनीबीचको सुमधुर द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान भएको थियो । साथै, पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई आगामी दिनमा थप सुदृढ र गहिरो बनाउने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका थिए ।