चितवन । जिल्लाको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरका छ स्थानमा ट्राफिक लाइट जडानको काम सुरु गरिएको छ। पुलचोक–गोन्द्राङ छ लेन सडक र बाइपास रोडका विभिन्न छ चोकमा ट्राफिक लाइट राख्न थालिएको हो।
निर्माण कम्पनीका सञ्चालक सुमन थापाका अनुसार सोमबार पुलचोक र सहिदचोकमा ट्राफिक लाइट जडानको काम सुरु गरिएको छ। यसअघि निर्धारित छवटै स्थानमा पोल राख्ने काम सम्पन्न भइसकेको थियो।
सडक फराकिलो बनेपछि ट्राफिक व्यवस्थापनमा समस्या देखिँदै आएको छ। यही समस्यालाई मध्यनजर गर्दै सङ्घीय सरकारको बजेटमा पुलचोक, सहिदचोक, चौबिसकोठी, हाकिमचोक, मालपोतचोक र केन्द्रीय बसपार्कमा ट्राफिक लाइट जडान गर्न लागिएको हो। सवारीसाधनको चाप बढी हुने यी चोकमा ट्राफिक लाइट राख्न थालिएको हो।
सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख राकेश महर्जनले गत आर्थिक वर्षमै सम्पन्न हुनुपर्ने काम निर्माण कम्पनीको ढिलासुस्तीका कारण लम्बिएको बताए। जेनजी प्रदर्शनका कारण पनि केही समय काम प्रभावित भएको उनको भनाइ छ।
“अब बत्ती राख्ने काम सुरु भएको छ। चाँडै सम्पन्न हुन्छ,” उनले भने।
महर्जनका अनुसार निर्माण कम्पनीले बत्ती ल्याउन ढिलाइ गर्दै म्याद थपका लागि निवेदन दिए पनि विभागले त्यसलाई अस्वीकार गरेको थियो। अहिले निर्माण कम्पनीलाई दैनिक जरिवाना लगाएर काम गराइएको उनले जानकारी दिए।
भरतपुर महानगरपालिकाका छवटा चोकमा ट्राफिक लाइट जडान गर्न विसं २०८२ साउन २० गते मूल्य अभिवृद्धि करसहित रु एक करोड २३ लाख १४ हजार २६० मा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार निर्माण कार्य विसं २०८२ चैत २० गतेभित्र सम्पन्न गर्नुपर्ने थियो।
भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले सवारीसाधनको उच्च चाप र जोखिम रहेका स्थानमा ट्राफिक लाइट जडान गर्न लामो समयदेखि सडक विभागलाई अनुरोध गर्दै आएको बताए। सोहीअनुसार विभागले काम अघि बढाए पनि ढिलाइ भएको उनले उल्लेख गरे।
ट्राफिक लाइट जडान भएपछि सवारी आवागमन सहज हुनुका साथै सडक दुर्घटनामा समेत कमी आउने अपेक्षा गरिएको कार्यवाहक प्रमुख अधिकारीले बताए।