काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले बलात्कार र भ्रष्टाचारमा दोषी प्रमाणित भएकालाई ‘अन दि स्पट’ गोली ठोक्ने कानुन बनाउन माग गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सुनारले बझाङकी सम्झना कामी, कञ्चनपुरकी निर्मला पन्त, कैलालीकी माया कामी, रुपन्देहीकी अंगिरा पासी, खोटाङकी रेस्मिका परियार, म्याग्दीकी मिना परियार तथा हालै गरिमा चौधरीको बलात्कार र हत्याका घटनाको स्मरण गरे। यस्ता घटनाको फेहरिस्त निकै लामो रहेको उनले बताए।
पीडितको नाम लिएर लामो बहस गर्नु मात्र पर्याप्त नहुने भन्दै उनले महिलाको सम्मान, सुरक्षा र बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने बताए।
‘तर हामी गरिमाको गरिमा जोगाउन सक्छौँ कि सक्दैनौँ,’ उनले भने, ‘चेलीले नाच्न र बाँच्न पाउनुपर्छ भन्ने कुरामा गम्भीर हुन जरुरी छ।’
बलात्कार र भ्रष्टाचारका अपराधमा कुनै सम्झौता गर्न नहुने भन्दै सुनारले दोषी प्रमाणित भएकालाई कडा कारबाही गर्ने कानुन बनाउन माग गरे। ‘बलात्कारी र भ्रष्टाचारी प्रमाणित भएको खण्डमा ‘अन दि स्पट’ ठोक्ने कानूनको व्यवस्था तत्काल लागु गर्न आह्वान गर्दछु,’ उनले भने।