काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले स्पिनर सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको नयाँ कप्तान नियुक्त गरेको छ।
आगामी अगस्ट ३० देखि मलेसियामा सुरु हुने एसीसी प्रिमियर कपदेखि लागू हुने गरी क्यानले सन्दीपलाई टोलीको नेतृत्वको जिम्मेवारी दिएको हो।
क्यानले सन्दीपको कप्तानीमा १४ सदस्यीय टोलीसमेत घोषणा गरेको छ। टोलीमा कप्तान सन्दीप लामिछानेसँगै आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी छन्।
एसीसी प्रिमियर कपबाट सन्दीपले पहिलोपटक नेपाली एकदिवसीय टोलीको नियमित कप्तानी सम्हाल्नेछन्।
