काठमाडौं। सुनसरीलगायत विभिन्न जिल्लामा विकसित पछिल्लो घटनाक्रमपछि सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति–सुव्यवस्था कायम राख्न सर्वदलीय बैठकले संयुक्त अपिल गर्ने निर्णय गरेको छ। बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले भने सरकारको भूमिका र सुरक्षा संयन्त्रको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन्।
बुधबार सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पहलमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लिङदेनले यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनुपर्ने र गृहमन्त्रीले घटनाबारे राजनीतिक दललाई जानकारी गराउनुपर्ने बताए।
तराई–मधेसमा विशेषगरी हिन्दु धर्मावलम्बीका चाडपर्वका बेला यस्ता घटना पटक–पटक दोहोरिनु चिन्ताको विषय भएको उल्लेख गर्दै उनले सुरक्षा संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठाए।
“यसलाई केवल एउटा स्थान विशेषको घटनाका रूपमा मात्र हेरिनु हुँदैन। सरकारले यस समस्याको जडसम्म पुगेर दीर्घकालीन समाधान खोज्नुपर्छ। बहुमतको सम्मान र अल्पसङ्ख्यकको संरक्षण हुनेगरी राज्यले आफ्नो उपस्थिति देखाउनु आवश्यक छ,” उनले भने।
प्रधानमन्त्रीको प्रतिक्रिया ढिलो आएको टिप्पणी गर्दै लिङदेनले संवेदनशील घटनामा सरकारको सक्रिय उपस्थिति देखिन नसकेको दाबी गरे। भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था, संवाद र सामाजिक सद्भाव प्रवर्द्धनमा सरकारले प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।