भद्रपुर (झापा)। झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ।
प्रहरीका अनुसार सर्लाहीको लालबन्दी–२ निवासी २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृतावस्थामा भेटिएकी हुन्। उनी आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन्। गुप्ता पर्साको वीरगञ्ज–१६ निवासी हुन्। दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गर्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवालका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।
विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार साउन ५ गतेदेखि विद्यालय बिदामा रहेको थियो। सोमबार विद्यालय सञ्चालन हुँदा दुवै शिक्षक सम्पर्कमा नरहेपछि उनीहरू बस्ने कोठामा पुग्दा बाहिरबाट ताला लागेको र फोनसमेत सम्पर्कमा नआएको अवस्था थियो।
उनका अनुसार बेलुका करिब ४:३० बजे रतन गुप्ताले आफ्नो वाट्सएपमा सन्देश पठाउँदै श्रीमती कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको, आफूले शव अर्को कोठामा सारेको र डरका कारण त्यहाँबाट निस्किएको उल्लेख गर्दै ताला खोलेर कानुनी प्रक्रिया पूरा गरिदिन अनुरोध गरेका थिए।
स्थानीयवासीका अनुसार गुप्तालाई आइतबार साँझ करिब ५ बजे दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको थियो। त्यसयता उनी सम्पर्कविहीन छन्।
प्रहरीले घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरी शव परीक्षणका लागि पठाएको जनाएको छ। प्रहरीका अनुसार मृत्युको कारण अझै यकिन भइसकेको छैन। शव परीक्षणको प्रतिवेदन तथा अन्य प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको छ भने सम्पर्कविहीन रहेका रतन गुप्ताको खोजी पनि तीव्र पारिएको छ।