जनकपुरधाम। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ का २४ वर्षीय ओमप्रकाश मेहताको सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको घटनाको विरोधमा सोमबार जनकपुरधाममा प्रदर्शन गरिएको छ।
रामानन्द चोकमा भेला भएका हिन्दुवादी समूहहरूले घटनाको विरोध गर्दै दोषीमाथि कारबाही र घटनाको निष्पक्ष छानबिनको माग गरेका थिए।
सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाउँदा मेहताको मृत्यु भएको थियो। उक्त घटनामा अन्य नौ जना घाइते भएका छन्।
गोली लागेर युवकको मृत्यु भएपछि आक्रोशित बनेका हिन्दुवादी समूहले सुनसरी घटनाको विरोधस्वरूप जनकपुरधाममा प्रदर्शन गरेका हुन्।