काठमाडौँ । नेकपा एमाले सांसद गंगादेवी श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा वृद्ध भत्ता नबढाइएकोमा सरकारको आलोचना गरेकी छन् ।
सोमबार प्रतिनिधि सभामा बोल्दै बजेटमाथि मन्त्रालयगत छलफलमा सहभागी हुने क्रममा उनले वृद्ध भत्ता बढाउनुको साटो स्वैच्छिक रूपमा त्याग गर्न भनिएको बताइन् ।
उनले सरकारले वृद्ध वृद्धाको अनुहार हेर्न पनि नचाहेको आरोप लगाइन् । ‘वृद्ध वृद्धाहरूको सम्मान त के अनुहार हेर्न पनि चाहँदैन । छोराछोरीहरूको अनुरोधमा मत दिने वृद्ध वृद्धालाई पनि थाहा भयो । कर्मचारीको तलब बढेको छ । तर, वृद्ध वृद्धको तलब बढेन । सय रुपैयाँ बढाएको भए पनि ऋण गरेर कति बढाओस् भन्ने हुन्थ्यो बुबा आमाहरूलाई,’ उनले भनिन्, ‘वृद्धहरूले बिगारेको भनेर नवयुवाहरूले बुढाहरूको कुरा बुझ्ने कुरै भएन । अझै स्वेच्छाले भत्ता त्याग्ने भन्ने नीति ल्याएको छ ।’
गाउँघरमा वृद्ध बा आमालाई भत्ताको लोभ गर्ने बुढाबुढी भनेर व्यङ्ग्य गर्न थालिएको उनले बताइन् । ‘वृद्ध भत्ता र उपचार खर्च सुरु गर्ने एमाले हो । उसले गरेको काम किन गर्नु भनेर वृद्धाभक्त नबढाइएको घामजस्तै छर्लङ्ग छ । वृद्ध वृद्धाको सराप लागोस् त भन्दिनँ म, तपाईँहरू कहिल्यै बुढो हुन नपरोस्,’ सांसद श्रेष्ठले भनिन् ।
वृद्धाश्रम व्यवस्थापन भनेर केही पालिकामा बजेट विनियोजन गरियो, अरु पालिकामा किन गरिएन भन्ने प्रश्न उनले गरिन् ।